टीकापुर नगरपालिका थप क्वारेन्टाइन निर्माणमा जुट्यो
टीकापुर । टीकापुर नगरपालिका थप क्वारेन्टाइन निर्माणमा जुटेको छ । भारतले लकडाउन खुकुलो बनाउनाका साथै रेल सेवा सञ्चालनमा ल्याएसँगै त्यहाँबाट नेपाली नागरिक आउन सक्ने भन्दै थप क्वारेन्टाइन निर्माणका लागि नगरपालिकाले पहल शुरु गरेको हो ।
यसका लागि नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकसँग छलफलसमेत गरेको छ ।
राम्रो भौतिक संरचना रहेका १७ वटा विद्यालयका प्रधानाध्यापकसँग नगरपालिकाले विद्यालयलाई आवश्यक परे क्वारेन्टाइन निर्माण गर्नेबारे छलफल भएको नगर प्रमुख तपेन्द्रबहादुर रावलले जानकारी दिए ।
उनले हाल चारवटा क्वारेन्टाइन तयारी अवस्थामा रहेको र ती क्वारेन्टाइनमा ४०० जनासम्म राख्न सकिने बताए । उनले भारतबाट स्थानीयवासी आएपश्चात् क्वारेन्टाइन व्यवस्थापन गर्न कठिनाइ हुनसक्ने भन्दै पूर्व तयारीका लागि छलफल गरिएको बताए ।
“सबै विद्यालय क्वारेन्टाइनका लागि दिन तयार छन् ।” नगर प्रमुख रावलले भने, “सबै मावि तहका उपयुक्त विद्यालयलाई क्वारेन्टाइनका लागि पूर्वतयारी गरेका छौँ ।”
हालसम्म टीकापुर नगरपालिकाले क्वारेन्टाइन व्यवस्थापनमा रु ११ लाखभन्दा बढी खर्च गरिसकेको छ ।
प्रतिक्रिया