आइतबार, असार ८, २०८२

निर्वाचन आयोगले राष्ट्रपतिका उम्मेदवारको नाम सार्वजनिक गर्दै

नेपालखोज २०७९ फागुन १६ गते १०:१६

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिएकोका नाम आज सार्बजनिक गर्ने भएको छ । राष्ट्रपति निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन निर्वाचन आयोगले जनाएको छ । आयोगले आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने जानकारी दिएको छ ।

निर्वाचन कार्यतालिका अनुसार राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ । अपराह्न ४ बजेदेखि मतगणना प्रारम्भ हुने र सोही दिन साँझ ७ बजेभित्रमा नतिजा सार्वजनिक गर्ने आयोगको तयारी रहेको छ ।

राष्ट्रपतिमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमाले नेता सुवास नेम्वाङको उम्मेदवारी परेको छ । पौडेललाई नयाँ आठ दलीय गठबन्धनको साथ छ । नेम्वाङलाई भने एमालेबाहेकका दलले खुलेर साथ दिएका छैनन् । राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र नेमकिपाले राष्ट्रपतिमा कुन दलका उम्मेदवारलाई सघाउने भन्ने विषयमा निर्णय लिइसकेका छैनन् ।

उम्मेदवारद्धय भने विभिन्न राजनीतिक दल र शीर्ष नेताहरूलाई भेटेर आफूलाई सघाउन आग्रह गर्दै आएका छन् । गत १३ फागुनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल र नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ उम्मेदवारी दर्ता गराएका थिए । उनीहरु बिरुद्ध उजुरी आब्हान गरिए पनि कुनै उजुरी नपरेको जनाएको आयोगले आज उम्मेदवारको नाम औपचारिक रुपमा सार्वजनिक गर्न लागेको हो ।

प्रतिक्रिया