शुक्रबार, असार १३, २०८२

पृथ्वी शाहविरूद्ध संगठित अपराधसहित ४ वटा मुद्दा चलाइने

नेपालखोज २०७९ फागुन १७ गते १६:०२

काठमाडौं । ‘व्यवसायी’ पृथ्वीबहादुर शाहमाथि ४ वटा मुद्दा चलाउने तयारी भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीीआईबी)ले शाह र उनी आवद्ध व्यवसायिक समूहमा रहेका व्यक्तिविमाथि गरेको अनुसन्धानपछि तयार पारेको प्रतिवेदनका आधारमा ४ वटा मुद्दा चलाउने तयारी गरिएको हो । प्रतिवेदनले ४ वटा शीर्षकमा मुद्दा चलाउन राय दिइएको छ ।

मुद्दा चलाउनुपर्ने कारण र आधारसहित विवरण बुधबार सीआईबीले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । सीआईबीका अनुसार शाह र उनका भाइ विजयबिक्रम शाहसहितका व्यक्तिविरुद्ध ठगी, लिखतसम्बन्धी कसूर, सहकारी ठगी र संगठित अपराधको मुद्दा दायर गर्न सरकारी वकिल कार्यालयलाई राय दिइएको छ ।

शाह विरुद्ध लिखत कीर्ते गरेको, ठगी र संगठित अपराधको मुद्दा चलाउन राय दिएको छ । भाइ विजयविक्रमविरुद्ध सहकारी ठगी, लिखत कीर्ते गरेको, ठगी र संगठित अपराधको मुद्दा चलाउन राय दिएको छ । अन्य ७ जनालाई ठगी र संगठित कसुरमा मुद्दा चलाउनुपर्ने राय दिएको छ । अन्य फरार रहेका १३ जनाविरुद्ध पनि ठगी र संगठित अपराध कसुरमा मुद्दा चलाउन भनिएको छ ।

अमेरिकामा अनलाइनमार्फत ठगी गरेको रकम नेपाल ल्याएको आरोपमा शाहलाई सीआईबीले पक्राउ गरेको थियो । उनीहरुविरुद्ध व्यूरोमा २४ वटा उजुरी परेको थियो ।

शाहको समूहमा रहेका व्यक्तिहरुले संगठित रुपमा अवैध सम्पत्ति आर्जन गर्ने उद्देश्यले २४ भन्दा बढी कम्पनी खडा गरेका सीआईबीको अनुसन्धानले देखाएको छ । उनीहरुले कम्पनीको उद्देश्य विपरीत आधिकारिक निकायबाट विदेशी लगानी भित्र्याउने अनुमति नलिएको तर विदेशबाट रकम ल्याइरहेको पाइएको थियो ।

उनीहरुले अमेरिकी नागरिकसम्म एन्टी भाइरस अपडेट, अमेजनको विल भुक्तानीलगायतका विभिन्न निहुँमा सम्पर्क स्थापित गरेका थिए । त्यसपछि रिमोट एक्सेसबाट पीडितहरुको डिभाइसमार्फत बैंक खातासम्मको पहुँच बनाएर खाताको रकम नेपाल र थाइल्याण्ड पठाएका सीआईबीले जनाएको छ ।

शाहको समूहले काठमाडौं महानगरपालिका–७ खुशिबुमा खरिद गरेको एउटा जग्गामा लिखत मूल्य कम देखाई राजस्व र लाभ कर छलेको पनि प्र्तिवेदनमा उल्लेख छ ।

कम्पनी रजिस्ट्रारको कार्यालयमा कम्पनी दर्ता गर्दा सञ्चालक भागवत सुवेदीको कीर्ते औंठाछाप लगाएको, उक्त कम्पनी नामसारी हुँदै रुक्मांगत काफ्लेबाट अनुप खड्काको नाममा सञ्चालनमा रहेको तर आर्थिक कारोबार पृथ्वीले गर्ने गरेको अनुसन्धानमा खुलेको छ ।

उनीहरुबाट कुल ५६ जना ठगीमा परेको र तीमध्ये २४ जनाले उजुरी दिएको सीआईबीको भनाइ छ । पीडितले आफूहरुको २८ लाख ९२ हजार ३९० अमेरिकी डलर ठगी भएको बताएका छन् ।

शाहको समूहले ठगी गरी नेपाल ल्याएको रकम ३८ करोड ८६ लाख ६२ हजार १३६ रुपैयाँ रहेको उल्लेख छ । सीआईबीको पत्रकार आधारमा बैंकहरुले १ करोड २८ लाख ९३ हजार ८५ रुपैयाँ रोक्का गर्न पाएका छन् ।

प्रतिक्रिया