शनिबार, असार ७, २०८२

प्रधानमन्त्री दाहालले भने- मलाई काम गर्न सहज छैन, दोहोरो घेराबन्दीमा छु

नेपालखोज २०७९ फागुन २१ गते १४:०६

काठमाडौं । नेकपा माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफुलाई पप्रधानमन्त्रीका रुपमा काम गर्न असहज भइरहेको बताएका छन् । उनले आफुलाई प्रधानमन्त्रीबाट कसरी हटाउने भन्ने षडयन्त्र भइरहेको बताए पनि को बाट यस्तो षणयन्त्र भइरहेको छ भन्ने कुरा भने खुलाएनन् । प्रचण्डले आफूहरूविरुद्ध निकै ठूलो षडयन्त्र भइरहेको पनि बताएका छन् ।

शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेसनले आइतबार राजधानीमा गरेको कार्यक्रममा प्रचण्डले माओवादीहरू विभिन्न धारमा विभाजित भएको अवस्था हुँदा पनि बलियो रहेको थाहा पाएर नै षडयन्त्र भइरहेको बताए । उनले आफू यतिबेला राष्ट्रिय र अन्तर्राष्ट्रिय घेराबन्दीविरुद्ध लडिरहेको दावी गरे । प्रचण्डले पूर्व माओवादी एकठाउँमा आउनुपर्नेमा जोड दिँदै अब तैंले मैले नभनी फेरि एक ठाउँमा केन्द्रित हुने समय आयो भन्ने महसुस गर्ने हो भने एकतालाई कसैले रोक्न नसक्ने बताए ।

प्रचण्डले अघि भने, ‘राष्ट्रिय अन्तर्राष्ट्रिय दबाव र घेराबन्दीविरुद्ध लडिरहेको छु । अरु पनि लडिरहनुभएको छ । हामी एकठाउँमा केन्द्रित भयौं भने अजय हुन्छौं ।’ तर आफू प्रधानमन्त्री पनि भएकाले धेरै चर्को बोल्दा पनि बिग्रिने उनले सुनाए । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले चर्को भन्न हुन्न, तपाईंहरुले भन्दा हुन्छ ।’ माओवादीहरू एकठाउँमा जम्मा भएर लाखौं जनता सडकमा उतार्ने हो भने प्रतिक्रियावादी तत्वहरू निकै कमजोर छन्, माओवादीले फेरि एकचोटि विजयको नयाँ यात्रा सुरु गर्न सक्छ भन्ने मेरो विश्वास छ ।’

प्रधानमन्त्री प्रचण्डले माओवादीविरुद्ध षडयन्त्र भएको बताए । ’हामी कमजोर भएको कारणले होइन, माओवादी आन्दोलन र त्यसको प्रभाव अहिले विभिन्न धारामा भएपनि तिनीहरू एक ठाउँमा हुँदा त्यो जबर्जस्त प्रभाव छ भन्ने बुझेर नै प्रतिक्रियावादीहरूले विभिन्न खालका षडयन्त्र गर्ने, घेरा हाल्ने गरिराखेका छन् । हिजो जनयुद्धको अन्तिम समयतिर पनि देखिएकै कुरा हो,’ उनले भने, ’हामी अहिले एकताबद्ध हुनुपर्छ भन्ने आवश्यकता बोध गरिएको छ, त्यो एउटा शक्ति हो ।’

प्रतिक्रिया