बिहीबार, असार १२, २०८२

होलिमा भक्त प्रह्लादको कथा

नेपालखोज २०७९ फागुन २२ गते १०:००

पुराणका अनुसार होली मनाउने घटना भक्त प्रह्लादसँग सम्बन्धित छ । प्राचीन कालमा राक्षसहरूको शासन थियो । हिरण्यकश्यप ती राक्षसहरुका राजा थिए । कठोर तपस्यापछि ब्रह्माबाट अमरत्वको वरदान पाएका हिरण्यकश्यपले झाँसी, भारतको एरिचलाई आफ्नो राजधानी बनाएका थिए । शक्ति प्राप्त गरे पछि उनी अहंकारी भए र आफूलाई भगवान मान्न थाले अनि जनतालाई आफ्नो पूजा गर्न बाध्य तुल्याउन थाले तर हिरण्यकश्यपको यो कुरा उनका आफ्नै छोरा प्रह्लादले स्वीकार गरेनन् र उनको पूजा गर्न अस्वीकार गरे ।

हिरण्यकश्यपका छोरा प्रह्लाद भगवान विष्णुका परम भक्त थिए । यहि कुरामा हिरण्यकश्यपलाई रिस उठ्यो । उनि प्रह्लादलाई मार्ने षड्यन्त्र गर्न थाले । हिरण्यकश्यपले आफ्नै छोरा प्रह्लादलाई मार्ने प्रयास गरेका थिए । उनले प्रह्लादलाई हात्तीले कुल्चन लगाए । अग्लो पहाडबाट बेतवा नदीमा धकेले तर प्रह्लाद बाँचे । प्रह्लाद नदीमा खसेको स्थान अहिले पनि रहेको बताइन्छ । हिरण्यकश्यपले भक्त प्रह्लादलाई बेतवा नदीमा फ्याँकेको स्थान पाताल जत्तिकै गहिरो भएको बताइन्छ , आजसम्म त्यो ठाउँको गहिराइ कसैले पत्ता लगाउन सकेका छैनन ।

धेरै प्रयास असफल भएपछि हिरण्यकश्यपले आफ्नी बहिनी होलिकासँग मिलेर षड्यन्त्र गरे । होलिकाले आगोले जलाउन नसक्ने वरदान पाएकि थिईन । यो बरदानमा होलिका एक्लै आगोमा प्रवेश गर्दा मात्र आगोले उनलाई हानि नगर्ने कुरा उल्लेख थियो तर हिरण्यकश्यपले आफ्नी बहिनी होलिकालाई भक्त प्रह्लादसँग आगोमा प्रवेश गर्न भने । होलिका अर्कासँग गयो भने आफै जलेर खरानी भईन्छ भन्ने वरदान बिर्सेर हिरण्यकश्यपको भनाइमा लागिन । त्यसपछि एउटा अग्लो पहाडमा आगो बालियो । होलिका भक्त प्रह्लादसँगै अग्निमा प्रवेश गरिन् । होलिका एक्लै अग्निमा जाँदा मात्र नजल्ने वरदान थियो तर उनि भक्त प्रह्लादलाई काखमा राखेर आगोमा प्रवेश गरिन् ।

त्यस पछि उनी त्यो आगोमा जलेर खरानी भइन् भने भगवान विष्णुले भक्त प्रह्लादलाई आगोबाट बचाए । वरपरको क्षेत्रमा भीषण आगो फैलियो । यसबाट आक्रोशित भएर हिरण्यकश्यपले आफ्ना छोरा भक्त प्रह्लादलाई आफ्नी बहिनी होलिकालाई जलाएको त्यही पहाडमा आगोको पोलमा बाँधेर मार्न खोजे र छुरा प्रहार गरे । त्यस पछि भगवान विष्णुले नरसिंह अवतार लिएर हिरण्यकश्यपको वध गरे । हिरण्यकश्यपको मृत्यु हुनुअघि नै होलिकाको रुपमा दुष्टता जलेको थियो भने भक्त प्रह्लादले आफ्नो सद्गुणका कारण उद्धार पाएका थिए । त्यही दिन देखि होली दहन सुरु भएको थियो र भोलिपल्ट हिरण्यकश्यपको मृत्युको हर्षोल्लासमा रंग खेलिएको थियो ।

प्रतिक्रिया