मंगलबार, असार १०, २०८२

मन्त्री पुनद्वारा एक करोड  ११ लाख रकम हस्तान्तरण

नेपालखोज २०७७ जेठ ४ गते १६:४७

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले निजी क्षेत्रमार्फत प्राप्त रु एक करोड  ११ लाख, ११ हजार १११ बराबरको आर्थिक सहयोग प्रधानमन्त्री कार्यालयअन्तर्गतको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि गठित राहत कोषमा हस्तान्तरण गरेका छन् ।

मन्त्री पुनले प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीलाई ऊर्जा मन्त्रालयमा आयोजित एक कार्यक्रममा उक्त रकमबराबरको चेक हस्तान्तरण गरेका हुन् । त्यस क्रममा मन्त्री पुनले कोषमा जम्मा भएको रकम महामारी रोकथाम तथा नियन्त्रणका लागि आवश्यक परेका पालिकामा पठाउने कार्य शुरु गर्न सुझाव दिए ।

सचिव बिडारीले हालसम्म कोषमा रु दुई अर्ब २६ करोड जम्मा भइसकेको जानकारी दिए । उनले माग भई आएको अवस्थामा कोषबाट पालिकामा रकम पठाउन सकिने बताए । हालसम्म केही पालिकाले मौखिकरुपमा रकम माग गरेको भन्दै उनले तालुकदार सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत कोषको रकम माग गर्न सक्ने स्पष्ट गरे ।

महामारीबाट कम प्रभावित र आन्तरिक स्रोत परिचालन गर्न सक्ने पालिकाका लागि कम र अतिप्रभावित तथा आन्तरिक स्रोत कम भएका पालिकाका लागि बढी प्राथमिकतामा राखेर रकम पठाइने उनको भनाइ थियो । सङ्घीय सरकारले पालिकाले क्वारेन्टाइन निर्माण, क्यारेन्टाइनमा राखिएकाको खानपिन तथा उपचारका लागि आफूसँग मौज्दात रकमबाटैै खर्च गरे पनि पछि भुक्तानी दिइने व्यवस्था मिलाएको छ ।

प्रतिक्रिया