राष्ट्रपति निर्वाचन : गएराति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि सुरु

काठमाडौं । फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनका लागि गए राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि सुरु भएको छ । निर्वाचन आयोगले फागुन २२ गते मध्यरातदेखि फागुन २५ गते मतदान बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने जनाएको छ ।
निर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरिएको छ ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागु हुने निर्वाचन आचारसंहिता, २०७९ मा व्यवस्था गरिएको छ ।
राष्ट्रपति पदका लागि नेकपा एमालेका नेता सुवास नेम्वाङ र नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले उमेदवारी दिएका छन् । पौडेललाई नयाँ आठ दलीय गठबन्धनको साथ छ ।
प्रतिक्रिया