बुधबार, असार ११, २०८२

विश्व खाद्य कार्यक्रमको अखाद्य चामल नेपालगञ्ज भन्सारमा अझै अलपत्र

नेपालखोज २०७९ फागुन २५ गते १६:३३

नेपालगञ्जज । समाथि पूर्ण विश्वास र भरोसा गरिएको हुन्छ, उसबाट नै लापरवाही हुन्छ भने त्यसको नोक्सानी के कति हुन्छ अनुमान पनि लगाउन सकिदैन । तथापि त्यसैले निम्त्याउने शंका र प्रश्नहरू भने जीवन्त रहिरहन्छन् । यस्तै प्रकृतिको घटनाक्रम हालै नेपालगञ्जमा विश्व खाद्य कार्यक्रमले नेपालको बालबालिकाको पोषणको लागि पठाएको गुणस्तरहीन खाद्य सामाग्रीको प्रकरणमा देखिएको छ । 

बालबालिकालाई खुवाउन संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमले पठाएको ५४ हजार किलो चामल नेपालगञ्जको खाद्यान्न आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले गुणस्तरहीन भेटिएपछि यो सवाल सतहमा आएको हो ।  उक्त कार्यालयको परीक्षणबाट हाल नेपालगञ्ज भन्सार कार्यालयमा रोकिएको बालबालिका दिवा खाजा कार्यक्रमका लागि संयुक्त राष्ट्रसंघ मातहतको विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले नेपाल ल्याएको चामल गुणस्तरहीन पुष्टि भएको थियो । उक्त चामल एक सातादेखि भन्सारको परिसरमा अलपत्र अवस्थामै छ । अब के गर्ने भन्ने निर्क्यौल पनि भैसकेको छैन । 

डब्लुएफपी नेपाल कार्यालयले सुदूरपश्चिमका अछाम, बाजुरा, बझाङ र कर्णालीको हुम्ला जिल्लामा १ देखि ५ कक्षाका विद्यालयमा अध्ययनरत बालबालिकाका लागि दिवा खाजा कार्यक्रम चलाएको छ । सो चामल डब्लुएफपीले विभिन्न जिल्लामा अनुदानस्वरुप वितरण गर्न आयात गरेको हो ।  भारतीय मार्ग हुँदै नेपालगन्जको जमुनाहा नाकाबाट ल्याएको चामल खाद्यान्न आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, नेपालगञ्जले परीक्षण गर्दा खान योग्य नभएको प्रमाणित भएपछि शंका उब्जिएको थियो ।  विश्व खाद्य कार्यक्रमजस्तो जिम्मेवार संस्थाले पठाएको चामलसमेत खान योग्य नभएको पाइएपछि प्रश्न उठ्नु अस्वभाविक थिएन । त्यसैले सो कार्यालयले उक्त चामल आयात अनुमति नदिन भन्सारलाई सचेत जानकारी गराएको थियो ।

त्यसपछि भन्सार कार्यालयले सो सामाग्री रोकिरहेको छ । यस अगाडि भन्सारले चामल परीक्षणका क्रममा भिजेको र खराब गन्ध आएको चाल पाएपछि नमूना परीक्षणका लागि सो चामल खाद्यान्न आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय नेपालगञ्जलाई पठाएका थियो । परीक्षणका क्रममा चामल खान योग्य नभएको र कुहिएको भेटिएको जानकारी परीक्षण कार्यालयले पठाएको हो । सो चामल समुद्री मार्ग हुँदै भारतीय बन्दरगाहसम्म आएको हो । त्यहाँबाट भारतीय नम्बरका तीन वटा कन्टेनर जमुनाह नाका हुँदै माघ १६ गते नेपालगन्ज भन्सार कार्यालय आइपुगेको थियो ।  खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय नेपालगञ्जका अनुसार जाँच गरिएको ३ बोरा चामल पानीले भिजेर सडेको छ ।

कार्यालय प्रमुख सन्तोष दाहालका अनुसार चेकजाँचको लागि भन्सारको पत्र आइसकेपछि चामल निरीक्षण र परिक्षण गरिएको हो । केही बोरा चामल सढेको पाइएकाले आयात गर्न उपयुक्त नदेखिएको पत्राचार गरिएको दाहालले जानकारी दिए । चामल पानीले भिजेर मक्किएकाले खानसमेत योग्य नभएको प्रतिवेदनका आधारमा भन्सारले कन्टेनर रोक्नु परेको जनाएको छ । ‘सम्बन्धित कार्यालयले आयात गर्न अयोग्य भनिसकेपछि हामीले पास दिने कुरै भएन’  भन्सार अधिकृत एवं सूचना अधिकारी डिल्लुप्रसाद शर्माले भने ।  भन्सारका एक अधिकारी भन्छन्, यो नियमित गर्ने काम हो । कानून अनुसार नै प्रक्रिया अघि बढ्छ ।’ तर के प्रक्रिया अघि बढ्ने अझै टुंगो छैन ।’

ती अधिकारीका अनुसार यो चेकजाँच आवश्यक थिएन? या दुख दिन गरिएको हो कि भन्ने कोणबाट पनि बहस भइरहेको छ तर खाद्य आयातनिर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले दिएको नमुना परीक्षणका आधारमा मात्र नाकाबाट खाद्य वस्तु भित्र्याउने गरिदै आइएको छ । यो विषय अहिले माथिल्लो तहमा पनि पुगिसकेको छ । विश्व खाद्य कार्यक्रमको नेपाल कार्यालयका अधिकारीहरू हाल भन्सार कार्यालयसँग नियमित सम्पर्कमा रहेको बुझिएको छ । कृषि र अर्थ मन्त्रालयबीच पनि अहिले यसबारे छलफल भइरहेको छ । थप अध्ययन र निकासका लागि काठमाडौँबाट भन्सार विभागको एक टोली नेपालगञ्जमा आएको बुझिएको छ । तथापि त्यो चामल नष्ट गर्ने या फिर्ता भन्ने कुराको टुंगो अझै भएको छैन ।

स्थानीय भन्सार कार्यालयको स्रोतका अनुसार विभागको निर्देशन अनुसार नै निर्णय गरिने छ । यस अघि कतिपय घटनामा अखाद्य भेटिएमा पुनः शुद्ध र गुणस्तरीय खाद्य ल्याउने प्रतिवद्धता गराएर फिर्ता गर्ने गरिएको बताउँदै भन्सारका एक कर्मचारी भन्छन्, अहिले पनि त्यसै गरिन पनि सक्छ ।  डब्लुएफपी संयुक्त राष्ट्रसंघको खाद्य सहायता निकाय हो । यो भोकमरीविरुद्ध सम्बोधन गर्ने संसारकै सबैभन्दा ठूलो मानवीय संगठन पनि हो । यसले खाद्य सुरक्षालाई महत्व दिन्छ । यसको मुख्यालय इटालीको रोममा छ । ८० भन्दा बढी देशमा यसका कार्यालय रहेका छन् । संयुक्त राष्ट्रसंघको जिम्मेवार संस्थाबाटै यस्तो खाद्य लापरबाहीलाई सामान्य प्रतिवद्धताको आधारमा छुट दिन नहुने माग गर्दै नागरिक समाजका सदस्यहरूले सो खाद्यान्न तत्काल नष्ट गर्न र अखाद्य सामाग्री आयातकर्ता अधिकारीहरूलाई भन्सार कानुन अनुसार दण्ड गरिनुपर्ने धारण राख्दै आएका छन् । 

विश्व खाद्य संगठनको यो लापरबाहीपूर्ण आयातबारे अहिलेसम्म नेपाल सरकारको शिक्षा मन्त्रालय, कृषि मन्त्रालय तथा स्वास्थ्य मन्त्रालयले कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक गरेका छैनन् । विश्व खाद्यको नेपाल कार्यालयले भने चामल आयात गर्ने क्रममा लामो सडक यात्राबाट ल्याउँदा बाटोमा केही अनपेक्षित अवस्थाहरू परेकोले पानीले भिजेर केही बोरा चामल भिजेको र सो कार्यालय दुखी भएको वक्तव्य जारी गरेको थियो ।  विद्यालयमा अध्ययनरत बालबालिकाको उचित पोषणका लागि वितरण गरिने खाद्य सामाग्रीमा यस्तो लापरबाही मानवीय दृष्टिकोणबाट क्षम्य नहुनुपर्ने माग स्थानीय मानवअधिकारकर्मीले गरिरहेका छन् । तर, नेपाल सरकार यसप्रति संवेदनशिल नदेखिएकोमा उनीहरूले दुख पनि प्रकट गरेका छन् ।   श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रतिक्रिया