आइतबार, जेठ ५, २०८२

ललित राजवंशी चम्कदा ओडीआई मान्यता कायम

नेपालखोज २०७९ फागुन २८ गते १६:४४

काठमाडौं । यूएईविरुद्धको आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तरगतमा स्पिनर ललित राजवंशी चम्कदा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाएको छ । आइतवार यूएईलाई १७७ रनले पराजित गरेसँगै नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाएको हो ।

नेपालले बाँकी दुई खेल जिते सिधै विश्वकप छनोटमा पुग्ने संभावना बढाएको छ । नेपाली टोलीमा पहिलो पटक सहभागी भएका ललित राजवंशी र गुलशन झा दुवैले नेपालको जितका लागि उल्लेख्य योगदान गरे । राजवंशीले पाँच विकेट लिए भने झाले एक विकेट लिए ।

दुई सय ४९ रनको लक्ष्य पूरा गर्न आएको यूएईविरुद्ध नेपालले पहिलो ओभरदेखि स्पिनरको प्रयोग गरेको थियो, जुन रणनीति पूर्ण रूपमा सफल देखियो । समग्रमा नेपाली बलर विपक्षीमाथि पूर्णरूपमा हाबी भएको थियो । टोलीले ६ ओभरभित्र ८ रन दिई विपक्षीका ४ महत्वपूर्ण विकेट लिइसकेको थियो । जसले खेल नेपालको नियन्त्रणमा रहन गयो । सुरुदेखि नै दबाबमा फसेको विपक्षी टोलीले त्यसपछि इनिङ्सलाई अगाडि बढाउन निकै मुस्किल परेको थियो ।

स्पिनर ललितनारायण राजवंशीले पहिलो ओभरको पाँचौ बलमा यूएईका ओपनर भ्रित्या अरविन्दलाई क्लिन बोल्ड गरेका थिए । लगत्तै तेस्रो ओभरमा अर्का स्पिनर दीपेन्द्रसिंह ऐरीले आर्यन लाक्रालाई पनि शून्य रनमा बोल्ड गरे । फेरि राजवंशीले पाँचौ ओभरमा एक रन बनाएर खेलिरहेका मोहम्मद वसिमलाई कुशल भुर्तेलबाट क्याच आउट गराए । ओपनर आसिफ खानलाई सोमपाल कामीले आउट गरेपछि यूएईको स्थिति दयनीय अवस्थामा पुगेको थियो । यस्तोमा टिमलाई सम्हाल्ने प्रयास अनुभवी रोहन मुस्तफाले गरेका थिए । तर २९ बलको सामना गरेर खेलिरहेका बेला सन्दीप लामिछानेले उनलाई एलबीडब्लूको सिकार बनाए ।

मैदानमा आयान अफ्जल खान (२९ रन) टिकेर खेलिरहेका थिए । १६.१ ओभरमा उनी राजवंशीको बलमा भुर्तेलद्धारा समातिए । अर्को ओभरमा लामिछानेले जवार फरिद (२ रन) लाई बोल्ड गरे । यति बेला यूएईको स्कोर ५१ रन थियो र टोलीका सात खेलाडी आउट भइसकेका थिए । यूएई अब एकदिवसीयको आफ्नो सबैभन्दा न्यून स्कोरमा खुम्चिने स्थितिमा पुगिसकेको थियो । टोलीका कुनै पनि खेलाडीले जिम्मेवार इनिङ्स खेल्न सकेको देखिएन। एकपछि अर्को गर्दै नियमित रूपमा यूएईको विकेट झर्ने क्रम जारी रह्यो ।

टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले ४९.२ ओभरमा अलआउट हुँदै २४८ रन जोडेको थियो । जवाफमा यूएई २२.५ओभरमा ७१ रन बनाएर अलआउट हुन पुग्यो । जितसँगै नेपाल विश्वकप लिग २ तालिकाको चौथो स्थानमा उक्लिएको छ । तालिकामा नेपालको ३४ खेलबाट ३६ अङ्क छ । अब खेल्न बाँकी दुई खेलमा पराजित भए पनि नेपाल कम्तीमा पाँचौँ स्थानमा रहनेछ ।

लिग २ मा उत्कृष्ट पाँच भित्र रहने टोलीको ओडीआई मान्यता सुरक्षित रहनेछ । ओडीआई जोगाउने यो अभियानमा नेपालले पछिल्लो समय सानदार खेल प्रदर्शन गर्दै १० खेलमा नौ खेलमा जित हात पारेको छ । यो हारसँगै यूएईको शीर्ष पाँचमा रहने सम्भावना लगभग समाप्त भएको छ ।

प्रतिक्रिया