मंगलबार, असार १०, २०८२

सेल्टर फ्रुटको गोलमाल, चुइगमलाई जुत्ताको सोल भनेर राजस्व ठगी

नेपालखोज २०७९ फागुन २९ गते ९:३९

वीरगञ्ज । वीरगञ्जको आदर्शनगरमा प्रहरीले गरेको छापामारीबाट आइसीपी भन्सार कार्यालयमा भइरहेको ठूलो भ्रष्टाचारको पर्दाफास गरेको छ । वीरगञ्जको आदर्शनगर ठाकुरराम क्याम्पस पछाडि रहेको पुरानो पिकीं गुट्का र अहिलेको स्वीटमार्ट फुड इंडस्ट्रीजले आयात गरेको समान परीक्षण हुँदा वीरगञ्ज भन्सार कार्यालयमा भइरहेको भ्रष्टाचारको खुलासा भएको हो । सरकारी तथा गैरसरकारी क्षेत्रका विभिन्न प्रतिनिधिहरूको रोहबरमा प्रहरीले आइतबार उद्योगमा गरेको परीक्षणमा  भन्सार विभागले तोकेको महसुल दरबन्दीको विषयबस्तु परिवर्तन गरेर कर्मचारीहरूको मिलेमतोमा राजश्व हिनामिना गरिएको पाइएको छ ।

स्वीटमार्ट फूड इंडस्ट्रीजले आयात गरेका चुइगम बनाउने कच्चा पदार्थ ‘गम बेश’ रबरको कार्टुनमा नाम केरमेट गरी जुत्ताको  सोलको ‘गम बेश रबर बनाएको भेटिएको छ ।  ‘गम बेश’ मा ३० प्रतिशत भन्सार महसुल तिर्नुपर्छ जबकी जुत्ताको सोल ‘गम’ बेश ४ दशमलव ७५ प्रतिशत मात्रै भन्सार लाग्छ । अर्थात २५ प्रतिशतभन्दा बढी फाइदा। अभिनेत्री केकी अधिकारीलाई ब्रान्ड एम्बेस्डर दाबी गर्ने र भारतीय चुइगम ‘सेन्ट्रल फ्रुट’ को नामसँग मिल्दोजुल्दो नाम ‘सेल्टर फ्रुट’  राखेर  व्यापारी निरञ्जन अग्रवालले सञ्चालन गर्दै आएको  उक्त उद्योगमा पर्सा प्रहरीले बिहीबार साँझ छापा मारेर सिलबन्दी गरेको थियो ।

विस्तृत रुपमा छानबिन अगाडी बढेमा कैयौँ वीरगञ्ज भन्सारका कर्मचारीहरूको जागीर धारापमा पर्ने निश्चित छ । प्रहरीले गरेको चेकजाँचमा समानको भन्सार प्रज्ञापन देखिएपनि खाने चुइगम रब्बरको सट्टा जुत्ता बनाउने सोल रब्बरको महसुल लिइएको पर्सा प्रहरीको ठम्याइ छ । ३० प्रतिशत भन्सार तिर्नुपर्ने देखिएको समानमा लगभग ४ प्रतिशत भन्सार मात्र भन्सार कार्यालयले असुल गरको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक दिपक गीरीले बताउनु भयो।उहाँले सामान र प्रज्ञापनपत्रमा देखिको अनियमितता बारे राजश्व अनुशन्धान कार्यालय पथलैयाको प्रतिनिधिलाई अनुरोध गरेको र सोमबार मात्रै अनुशन्धान पूरा हुने बताए । उद्योगका सञ्चालक निरञ्जन अग्रवालले आफुले भन्सार तिरेर समान ल्याएको र पहिला पनि यसै दरबन्दीमा ल्याउने गरेको बताए ।

उनले भने, ‘कार्टुनमा गरिएको केरमेटबारे मलाई केही थाहा छैन, म पहिला पनि यहि दरबन्दीमा यतिकै भन्सार तिर्ने गरेको छु अरु पनि चुइगम बनाउने  कम्पनीहरू यहि दरबन्दीमा भन्सार तिरेर आयात गरिरहेका छन, म मात्रै दोषी होइन।’ निरञ्जन अग्रवालले स्वीटमार्ट फूड इंडस्ट्रीजको नाममा मैक्सन फर्मास्युटिकल्स राजकोट भारतबाट कन्टेनरका कन्टेनर गम वेश झिकाउदै नेपालमै नाम चलेको सेन्टर फ्रेस चुइगम  बनाउदै आउनु भएको छ । यो घटनाले भंसार कर्मचारीको मिलेमतोमा खाने रब्बरमा तिर्नु पर्ने ३० प्रतिशत राजस्व तिर्नुको साटो ४.७५ प्रतिशत राजस्व र १३ प्रतिशत भ्याट मात्र तिरी करोडौँको राजस्व चुहावट गरेको तथ्य खुलेको हो। जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि सहित जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको टोलीले सो उद्योगको गोदाममा बिहिबार साँझ छापा मारेर गरी सिल्बन्दी गरेको थियो ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रतिक्रिया