राष्ट्रपतिले सँगै जेल बसेका साथीलाई शपथ ग्रहणमा बोलाएपछि…

बागलुङ । बागलुङका डिलप्रसाद सापकोटा (सापकोटा बाजे) आफूले सहयोग गरेको व्यक्ति राष्ट्रपतिजस्तो गरिमामय पद सम्हाल्न पुगेकामा हर्षविभोर छन् । ‘म असाध्यै खुसी छु उहाँ (राष्ट्रपति रामचन्द्र पौडेल) को राम्रो सेवा गर्न पाएकामा । जेलबाट निस्किएर सभामुख बन्नुभयो, पटकपटक मन्त्री हुनुभयो तर विगतको दुःख कहिल्यै भुल्नु भएन । मलाई फोन गरिरहनुहुन्थ्यो, घरमा पनि पटकपटक आउनुभयो’, सापकोटाले भने ।
राष्ट्रपति पौडेल तत्कालीन समय बागलुङ जेलमा बस्दा दूध पुर्याउने डिलप्रसाद सापकोटालाई पनि शपथग्रहण समारोहमा बोलाइएको थियो । घरायसी कारणले शपथ समारोहमा आउन नपाएका सापकोटाले एक साताभित्रै राष्ट्रपतिलाई भेट्ने योजना रहेको सुनाए । राष्ट्रपति पौडेल विसं २०४६ को जनआन्दोलनका क्रममा सङ्गठन बनाउने क्रममा बागलुङ पुगेका थिए । सङ्गठन गरेर फर्किने क्रममा पर्वतमा पुगेपछि पक्राउ परेका थिए। पक्राउपछि पौडेललाई बागलुङ जेलमा राखियो ।
त्यतिखेर बागलुङ काठेखोला गाउँपालिका–६ का सापकोटा गाउँमा दूध जम्मा गरेर सहरमा लगेर बिक्री गर्ने काम गर्थे । सोही क्रममा पौडेलसँग भेटघाट र चिनाजानी भएको थियो । सहयोग गरेको व्यक्ति राष्ट्रपति बने पनि सापकोटालाई व्यक्तिगत लाभका लागि कुनै अपेक्षा छैन । ‘सिर्फ संस्थाको गरिमालाई कायम राखी जनताको विश्वास र भरोसालाई कायम राखेर पदीय जिम्मेवारी पूरा गरिदिए पुग्छ’, उनले भने।
बागलुङ कांग्रेसमा आबद्ध ६३ वर्षीया सापकोटा अहिले पनि सामान्य खेती किसानी गर्नुहुन्छ । उनले भने, ‘पौडेल जेल बस्दा दुःख लगेर खुवाउँथे, गाउँबाट मकै भटमास भुटेर लैजान्थेँ, साथमा पत्रपत्रिका पनि किनेर लगिदिन्थेँ ।’ सङ्घर्षपछिको सफलता नै सार्थक जीवनको खुसी हो । दुःख, सङ्घर्ष र हैरानी दैनिकीसँग जोडिएका कुरा हुन् । पञ्चायतकालीन राजनीतिको रापले पौडेलको जीवनमा अनेकन मोड ल्यायो । तर पनि आत्मविश्वास कहिल्यै खस्केन । आस्था र विश्वासको दियो निभेन । त्यसैले त सफलताको शिखर चुन्न सफल हुनुभयो राष्ट्रपति बनेर । जेल जीवन जिउँदा पनि राष्ट्रपति पौडेलमा कुनै निराशा थिएन । मुहारमा कान्ति छाएकै हुन्थ्यो ।
‘हाम्रो आन्दोलन सफल हुन्छ, हामी सफल भएरै निस्कन्छौँ भन्नुहुन्थ्यो’, पौडेललाई जेलमा भेट्दाको अनुभव सुनाउँदै सापकोटाले भने । बागलुङ काठेखोला–५ का रघुपति शर्माले राष्ट्रपति पौडेलसँगै जेल बसेका थिए । उनलाई पनि राष्ट्रपतिको शपथमा काठमाडौँ बोलाइएको थियो तर कारणवश आउन पाउनुभएन । ‘राष्ट्रपति पौडेलसँग जिल्ला प्रहरी कार्यालयको कारागार र बागलुङ कारागारमा गरी ९९ रातसँगै बसेको थिएँ । उनलाई नजिकबाट चिनेको छु, सबैलाई राम्रो व्यवहार गर्ने सरल र सादगी व्यक्तित्व हुनुहुन्थ्यो’, शर्माले भने । शर्माका अनुसार सङ्घ संस्था ऐन, २०१७ अनुसार तत्कालीन समयमा पौडेलसहित सङ्गठनमा सक्रिय १० जनालाई जेल पठाइएको थियो ।
पौडेल जेलमा रहँदा बिहान सबैरे उठ्ने, किताब लेख्नुका साथै देश, लोकतन्त्र र मानव अधिकारका विषयमा जेलमै कक्षा सञ्चालन गर्नुहुन्थ्यो । उनले भने, ‘पौडेल पढेलेखेको मान्छे हामीलाई जेलभित्रै कक्षा दिनुहुन्थ्यो, असाध्यै शालीन र सरल व्यक्ति हुनुहुन्थ्यो ।’ शर्माले राष्ट्रपति पौडेलको कार्यकालमा देशमा राजनीतिक स्थायित्व कायम भई जनताभित्र पलाएको निराशालाई आशामा बदलेर देशको स्वतन्त्र अभिभावक बन्ने विश्वास व्यक्त गरे। पौडेलसँगै जेल पर्दा शर्मा तत्कालीन समयमा नेपाल विद्यार्थी सङ्घ बागलुङको सचिव थिए ।
शपथ समारोहमा बोलाइएका गोविन्द कँडेल पौडेलसँगै जेलमा बसेका थिए । जेल जीवन बिताउँदाको साथी राष्ट्रपति बनेपछि शीतल निवास पुगेर बधाई दिएर खुसी साटे । लामो राजनीतिक जीवन सङ्घर्षमा सादगी र सरल राजनीतिज्ञको छवि बनाउनुभएका पौडेल मुलुकको तेस्रो राष्ट्रपति बनेका हुन् । राष्ट्रपति पौडेलले आफूसँग जेल जीवन बिताएका व्यक्तिलाई आज शपथ ग्रहण समारोहमा बाेलाएका थिए ।
पञ्चायती शासन व्यवस्थामा जेल पर्दा आफूसँगै रहेका व्यक्तिलाई राष्ट्रपति भवन शीतल निवासमा शपथ ग्रहण समारोहमा अतिथिका रूपमा बोलाएका हुन्। इन्दु शर्मा, गोविन्द कँडेल, रघुपति शर्मालाई शपथ ग्रहणमा आमन्त्रण गरिएको थियो ।
प्रतिक्रिया