मंगलबार, वैशाख ३०, २०८२

हात – हतियारको अन्तर्राष्ट्रिय बजार कस्तो छ ?

नेपालखोज २०७९ फागुन ३० गते १३:३६

हेलसिन्कि । भारत विश्वको शीर्ष हतियार आयातकर्ता भएको छ । यद्यपि सन् २०१३-१७ तथा २०१८-२२ को बीचमा यसको आयात ११ प्रतिशतले घटेको छ । स्टकहोमस्थित थिंक ट्याङ्क सिप्रीले यसै साता जारी गरेको प्रतिवेदनमा यो जानकारी दिइएको छ ।

रुसी आक्रमण पच्छात अमेरिका र युरोपबाट सैन्य सहायता पाएपछि युक्रेन गत वर्ष विश्वको तेस्रो ठूलो हतियार आयातकर्ता बनेको प्रतिवेदनमा उल्लेख छ । ‘सिप्री का एक वरिष्ठ अध्ययनकर्ता पीटर वेजेमेनका अनुसार अघिल्लो वर्ष हतियारको आयातमा कमी आएको थियो भने युरोपेली देशहरूले रुससँग बढ्दो तनावका कारण हतियार खरिदमा उछाल देखेका थिए । भारतको हतियार आयातमा आएको गिरावट जटिल खरिद प्रक्रिया, हतियार आपूर्तिकर्ताको विविधीकरण तथा आयातमा स्वदेशी डिजाइनलाई प्राथमिकतामा राखिनु भएको प्रतिवेदनले जनाएको छ ।

रसिया भारतको सबैभन्दा ठूलो हतियार आपूर्तिकर्ता हो । यद्यपि हतियारको अन्तर्राष्ट्रिय स्थानान्तरणको पछिल्लो तथ्याङ्क अनुसार नयाँ दिल्लीको कुल हतियार आयातमा रुसको हिस्सा २०१८-२२ को अवधिमा ६४ प्रतिशतबाट ४५ प्रतिशतमा झरेको छ ।

सिप्री(SIPRI) द्वन्द्व, हतियार, हतियार नियन्त्रण तथा निशस्त्रीकरणमा अनुसन्धान गर्न समर्पित एक स्वतन्त्र अन्तर्राष्ट्रिय संस्थान हो । एसआईपीआरआई (SIPRI ) को तथ्याङ्क अनुसार भारत संसारको सबैभन्दा ठूलो हतियार आयातकर्ता र रूस भारतका लागि सबैभन्दा ठूलो निर्यातकर्ता हो । चीन र पाकिस्तानसँग जारी तनावका भारतमा हतियारको माग बढ्दै गएको पनि प्रतिवेदनमा उल्लेख छ ।

“पाकिस्तान र चीनसँग भारतको तनावले भारतमा हतियारको माग बढाएको छ । कुल विश्वव्यापी हतियार आयातको ११ प्रतिशत हिस्साका साथ भारत २०१८ – २२ मा विश्वको सबैभन्दा ठूलो हतियार आयातकर्ता थियो । -२०२२, ‘ट्रेन्ड्स इन इन्टरनेशनल आर्म्स ट्रान्सफर, २०२२’ शीर्षकको प्रतिवेदनमा भनिएको छ । प्रतिवेदन अनुसार भारतले सन् २०१८-२२ मा रुस, फ्रान्स, अमेरिका सहित अन्य मुलुकबाट हतियार आयात गर्ने काम सन् २०१३-२०१७ को तुलनामा ११ प्रतिशतले घटाएको छ ।

२०१८-२२ मा भारत, साउदी अरेबिया, कतार, अष्ट्रेलिया र चीन पाँच सबैभन्दा ठूलो हतियार आयातकर्ता थिए। यी पाँच देश मिलेर विश्वको हतियार आयातको ३६ प्रतिशत हिस्सा ओगटेका छन् ।

सिप्रीको वरिष्ठ अनुसन्धानकर्ता सिमन टी. वेइजम्यान भन्छन् – युक्रेनको आक्रमणले रुसको हतियार निर्यातलाई थप सीमित गर्ने सम्भावना छ । किनभने रुसले आफ्नो सशस्त्र सेनाको आपूर्तिलाई प्राथमिकता दिनेछ र रुसमाथिको व्यापारिक प्रतिबन्ध र अमेरिका तथा उसका सहयोगीहरूले रुसी हतियार किन्न नदिने दबाबका कारण अन्य देसबाट माग कम रहनेछ।

फ्रान्सले अमेरिकालाई भारतको दोस्रो ठूलो हतियार आपूर्तिकर्ताका रूपमा विस्थापित गर्दै ६२ वटा लडाकु विमान र चार वटा पनडुब्बी बेचेको छ । फ्रान्स अहिले भारतको दोस्रो ठूलो हतियार आपूर्तिकर्ता भएको छ । तथ्याङ्क अनुसार सन् २०१३-१७ र २०१८-२२ को बीचमा फ्रान्सबाट भारतको हतियार आयात ४ सय ८९ प्रतिशतले बढेको छ ।

सन् २०१८-२२ को अवधिमा अमेरिका, रुस, फ्रान्स, चीन र जर्मनी विश्वका शीर्ष पाँच हतियार निर्यातकर्ताको रूपमा उभिए। सन् २०१८-२२ को बीचमा अमेरिका र फ्रान्सेली हतियार निर्यात बढ्यो जबकि रूसी, चिनियाँ तथा जर्मन हतियार निर्यात घट्यो – सिप्रीले भनेको छ । चीनको आधा हतियार निर्यात पाकिस्तानमा भयो । सिप्रीको अनुसन्धान अनुसार २०१८-२२ मा कुल विश्वव्यापी हतियार निर्यातको ५.२ प्रतिशत भाग चीनको थियो । यद्यपि बेइजिङको हतियार निर्यात सन् २०१३-१७ र २०१८-२२ को बीचमा २३ प्रतिशतले घटेको छ।

चिनियाँ हतियार निर्यातको ठूलो हिस्सा (८० प्रतिशत) एसिया तथा ओशिनियाका राज्यहरूले ओगटेका छन । चीनले २०१८-२२ मा ४६ वटा देसमा हतियार पुर्‍यायो तर त्यसको आधाभन्दा बढी हतियार (५४ प्रतिशत) केवल एउटा देस – पाकिस्तानमा गयो । २०१३ – १७ र २०१८-२२ को बीचमा पाकिस्तानद्वारा गरिने हतियार आयात १४ प्रतिशतले बढ्यो । प्रतिवेदनले सन् २०१८-२२ मा पाकिस्तानको हतियार आयातको तीन चौथाई (७७ प्रतिशत) भन्दा बढी चीनले आपूर्ति गरेको देखाएको छ ।

चीन अहिले रुसी हतियारमा “कम निर्भर” हुँदै गएको छ किनभने चिनले उन्नत तथा प्रमुख हतियारको आन्तरिक उत्पादन बढाएको छ । युक्रेन अहिले विश्वको तेस्रो ठूलो हतियार आयातकर्ता हो । सिप्रीक‍ो प्रतिवेदन अनुसार – युक्रेन जसले १९९१ देखि २०२१ को अन्त्य सम्म निकै कम हतियार आयात गरेको थियो रुसि आक्रमणका कारण युक्रेन अहिले विश्वको तेस्रो ठूलो हतियार आयातकर्ता (कतार र भारत पछि) भएको छ । २०१८-२२ का बिच उ १४ औं ठूलो आयातकर्ता थियो । पाँच वर्षको अवधिमा विश्वव्यापी हतियार आयातको २.० प्रतिशत युक्रेनले ओगटेको छ।

प्रतिक्रिया