‘सूचना प्रविधिको माध्यमबाट नयाँ अवसर सिर्जना गर्न सकिन्छ’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित गर्ने प्रयास गरिरहेको बताइन् ।
राजधानीमा आजदेखि सुरु भएको एशिया-प्यासिफिक एड्भान्स नेटवर्क (एपान)को ५५औँ अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकारले आफ्नै भू-उपग्रह र सफ्टवेयर निर्माणको पहल थालेको र त्यसका लागि उपलब्ध स्रोतसाधनको उच्चतम प्रयोग र थप लगानी प्राथमिकतामा राखेको बताइन् ।
उनले सूचना प्रविधिसम्बन्धी कानुन परिमार्जन, आवश्यक नीति निर्माण, साइबर सुरक्षाका लागि सचेतना, सार्वजनिक तथा निजी तथ्याङ्कको सुरक्षालगायत क्षेत्रमा गहिरो ध्यान गएको बताइन् ।
डिजिटल नेपाल फ्रेमवर्कले डिजिटल समाज निर्माणको लक्ष्य राखेको जनाउँदै उनले सबै नागरिकमा आधुनिक प्रविधिको पहुँच सुनिश्चित गर्ने र यसलाई आममानिसको जीवनस्तर सुधार गर्न प्रयोग गर्न सकिनेमा नेपाल सरकार विश्वस्त रहेको बताइन् ।
‘फ्रेमवर्कमा डिजिटल साक्षरता प्रवद्र्धन, डिजिटल पूर्वाधार विस्तार र सूचना प्रविधि क्षेत्रमा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने नीति, रणनीति र कार्यक्रम समावेश छन्’, मन्त्री शर्माले भनिन्, ‘हाम्रो लक्ष्य भनेको प्रविधिको उच्चतम् प्रयोग गरी नयाँ नयाँ अवसर सिर्जना गर्ने र मुलुकको आर्थिक समृद्धि हासिल गर्ने हो ।’
वैज्ञानिक अनुसन्धान, आविष्कार र नवपर्वतन विकासको मेरुदण्डका रुपमा रहेको भन्दै उनले अनुसन्धानमार्फत नै नयाँ प्रविधिहरू पत्ता लगाउन, नयाँ अवसर पहिचान गर्न र जटिल समस्या समाधान गर्न सकिने बताइन् ।
अनुसन्धानमा लगानी बढाउनुपर्ने आवश्यकता झन बढ्दै गएको उल्लेख गर्दै उनले यसका लागि नेपाल सरकार सबै क्षेत्रसँग सहकार्य गर्न तयार रहेको स्पष्ट पारिन् । ‘सम्मेलनले हामीलाई एकअर्काबाट सिक्ने, उत्कृष्ट अभ्यास आदानप्रदान गर्ने र हामीले सामना गर्नुपर्ने चुनौतीको नवीन समाधान पहिचान गर्ने उत्कृष्ट अवसर प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु’, मन्त्री शर्माले भनिन् ।
सूचना प्रविधि अत्यन्तै सम्भावना बोकेको क्षेत्रका रुपमा रहेको जनाउँदै उनले नेपालले यसबाट उच्चतम लाभ लिनसक्ने विश्वास व्यक्त गरिन् । ‘हामी बर्सेनि हजारौँको सङ्ख्यामा सूचना प्रविधिका दक्षजनशक्ति उत्पादन गर्न सक्ने क्षमतामा पुगेका छौँ । इन्टरनेटको पहुँच पनि उल्लेख्य मात्रामा बढिरहेको छ । तसर्थ नेपालमा रोजगारीका अवसर सिर्जना गर्दै विदेशका कामसमेत नेपालमा आउटसोर्सिङ गर्न सके यसले नेपालको अर्थतन्त्रमा टेवा पु¥याउने छ’, उनले भनिन् ।
प्रतिक्रिया