मंगलबार, असार १७, २०८२

कालीगण्डकी करिडोरका पुल निर्माण हुँदै

नेपालखोज २०७७ जेठ ६ गते १४:४१

रामपुर । बन्दाबन्दीबीच राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअअन्तर्गत पाल्पा रामपुर नगरपालिकाका तीन खोलामा पक्की पुल निर्माणको काम सञ्चालन गरिएको छ ।

वर्षा शुरु हुनु अगावै सक्नुपर्ने तथा बाढीले क्षति पु¥याउन सक्ने पुलको काम बन्दाबन्दीका समयमा पनि पुनःसञ्चालन गरिएको हो । रामपुर वडा नं ३ र ४ जोड्ने अँधेरीखोलाको पुलको ढलानको काम पुनः सम्पन्न भएको छ । सो पुलको २० मिटर लम्बाइ र ११ मिटर चौडाइमध्ये गाडी गुड्ने भाग साढे सात मिटरको रहेको छ ।

त्यस्तै कालीगण्डकी करिडोरअन्तर्गत नगरपालिकाका वडा नं ७ र ८ जोड्ने तुरुन्दे खोलामा निर्माणाधीन पुलको काम करीब ९० प्रतिशत सकिसकेको छ । आगामी असार मसान्त अगावै सक्नुपर्ने भएकाले पुलको बाटाको रुपरेखा मिलाउने, काँटछाँट गर्नेलगायत काम भइरहेको सहायक सुपरभाइजर दामोदर भण्डारीले बताए ।

सो पुलको लम्बाइ २५ मिटर र चौडाइ ११ मिटरमा साढे सात मिटर गाडी गुड्ने छ । वडा नम्वर १० मा पर्ने पाँच सय खोलामा निर्माणाधीन पुलको ढलानको काम भइरहेको छ । सो पुलको ५५ प्रतिशत काम सकिइसकेको छ ।

कालीगण्डकीको दोभान नजीकै रहेकाले सामान उपलब्ध भएका खण्डमा वर्षा नलाग्दै ढलान गर्ने तयारी छ । सो पुलको २५ मिटर लम्बाइ र साढे सात मिटर गाडी गुड्ने भागसहित ११ मिटरको चौडाइ छ ।

बन्दाबन्दी भएपछि निर्माणाधीन कार्य बीचमै रोकिन पुगेकामा वर्षायाम नजिकिएकाले खोलाका निर्माणाधीन पुलका काम सुस्तसुस्त शुरु गरिएको कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाका सब इन्जिनियर शिव सुवेदीले जानकारी दिए ।

यसैगरी गैँडाकोटदेखि पीपलडाँडा सडक खण्डअन्तर्गत १३० किमी सडक कालोपत्रे बनाउने योजनाका लागि पहिलो चरणको काम भइरहेको छ ।

प्रतिक्रिया