मंगलबार, असार १७, २०८२

माछा चोरीको विषयमा झडप हुँदा चितवनमा एक प्रहरीसहित पाँच घाइते

नेपालखोज २०७७ जेठ ६ गते १५:२९

चितवन । पश्चिम चितवनको मङ्गलपुरमा माछा चोरी गरेको विषयमा झडप हुँदा एक प्रहरी जवानसहित पाँच घाइते भएका छन् ।

घाइते हुनेमा भरतपुर महानगरपालिका–१५ रामपुरका ३८ वर्षीय सन्तोष थापा, ५२ वर्षीय गणेश थापा, वडा नं १६ मङ्गलपुरका २६ वर्षीय दिपेश बजगाईं, २३ वर्षीय दीपेन्द्र बजगाईं र दङ्गा नियन्त्रण गण हेटौँडा दरबन्दी भइ रामपुरमा कार्यरत २६ वर्षीय प्रहरी जवान विजय सुनार छन् ।

गणेश, सन्तोष र दिपेश दीपेन्द्र दाजुभाइ भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार सोमबार राति १० बजेतिर विवाद हुँदा झडप भएको हो ।

स्थानीय दिपेश र दीपेन्द्रले पोखरी भाडामा लिइ पालिएको माछा सन्तोष र गणेशले चोर्दै गरेको भेटिएपछि चोरी गर्नेलाई बजगाईँ दाजुभाइले लखेटेका थिए ।

सोही क्रममा बजगाईँ दाजुभाइले खबर गरेका र प्रहरी आएपछि दुई पक्षबीच पोखरीभन्दा केही पर रङ्गशाला निमार्णस्थल नजिकै झडप भएको थियो । प्रहरी नायब उपरीक्षक कोइरालाका अनुसार थापा दाजुभाइले खुकुरी प्रहार गर्दा प्रहरी जवान सुनार गम्भीर घाइते भएका छन् ।

थापा र बजगाईं दाजुभाइ पनि घाइते भएको उनले जानकारी दिए । उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया