शुक्रबार, असार ६, २०८२

उपराष्ट्रपति निर्वाचनमा पनि राप्रपा तटस्थ बस्ने

नेपालखोज २०७९ चैत १ गते १७:४६

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले उपराष्ट्रपति निर्वाचनमा पनि तटस्थ बस्ने भएको छ ।

प्रवक्ता मोहन श्रेष्ठका अनुसार बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनमा पनि मतदान नगर्ने निर्णय गरेको हो ।

यसअघि २५ फागुनमा भएको राष्ट्रपति निर्वाचनमा पनि राप्रपाले मतदान गरेको थिएन । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि राप्रपाका १४ संघीय सांसद र २८ प्रदेशसभा सदस्य मतदाता छन् ।

राप्रपाले रासायनिक मलमा दिएको अनुदान कटौती गर्ने सरकारको निर्णयलाई अदूरदर्शी, अमानवीय र अनुचित भनेको छ । यो निर्णय तत्काल फिर्ता लिन, सुलभ ढंगले मल आपूर्तिको व्यवस्था मिलाउन र देशभित्रै मल कारखाना स्थापना अघि बढाउन राप्रपाले माग गरेको छ ।

राप्रपाले मलका विषयमा पार्टीको ७७ वटै जिल्ला समितिले एक हप्ताभित्र प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने, धर्ना दिने र विरोध सभा गर्ने निर्णय पनि गरेको प्रवक्ता श्रेष्ठले बताए ।

प्रतिक्रिया