सधैँ राजनीतिक स्थिरता र समृद्धिका पक्षमा छौँ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस सदैव राजनीतिक स्थिरता र देशको समृद्धिका पक्षमा उभिएको बताए ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने प्रस्तावका पक्षमा आफ्नो धारणा व्यक्त गर्दै संविधान प्रदत्त राजनीतिक व्यवस्था, राजनीतिक स्थिरता र देशको समृद्धिका पक्षमा सधैँ उभिइरहने बाचा गरे। गत पुस २६ मा प्रधानमन्त्री दाहाललाई विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गर्दा देशका प्रमुख एजेण्डाका बारेमा उल्लेख गरेको जानकारी गराउँदै सभापति देउवाले प्रतिनिधिसभाको पूर्ण कार्यकालको सुनिश्चितता र समग्रमा राजनीतिक स्थिरताका लागि प्रस्तावका पक्षमा मतदान गरेको बताए।
उनले भने, ‘त्यसबेला पनि मैले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण, संविधानको रक्षा र सार्थक कार्यान्वयन, मुलुकमा राजनीतिक स्थिरताको सुनिश्चितता हाम्रो आधारभूत आवश्यकता भएकोतर्फ सदनको ध्यान आकृष्ट गरेको थिएँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामार्फत नै मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न सकिन्छ भन्ने विषयमा जोड दिएको थिएँ र राजनीतिक स्थिरतालाई पूर्वशर्तका रुपमा उल्लेख गरेको थिएँ ।’
त्यतिबेला संसद्मा प्रमुख विपक्षी दलका रुपमा रहेर पनि प्रधानमन्त्रीको प्रस्तावका पक्षमा मतदान गरेको उल्लेख गर्दै उनले त्यो मतदान राजनीतिक स्थिरताका लागि भएको र आफूले प्रधानमन्त्रीको प्रस्तावमा समर्थन गर्दा संसद्को अधिवेशनको प्रारम्भमा नै अस्थिरताका आवाज उठ्न थालेको बताएको स्मरण गरे।
प्रतिक्रिया