मंगलबार, वैशाख १८, २०८१

कुपोषण कम गर्न सचेतनाको खाँचो, पोषणको अवस्थामा सुधार्न आग्रह

नेपालखोज २०७९ चैत १० गते २०:५६

काठमाडाैं । नेपालमा पोषणसम्बन्धी कार्यक्रम तथा सेवाहरू सञ्चालन हुँदै आए पोषणको पर्याप्तता नभएको पाइएको छ । नेपालमा बालपोषणको अवस्था चुनौती र सरोकारवालाको भूमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिक गर्न आज आयोजित कार्यक्रममा सहभागी सरोकारवालाले महिला, बालबालिका तथा किशोर किशोरीका लागि पोषणको व्यवस्था गर्न बजेट बढाउन सुझाव दिएका छन् ।

जागृति बाल तथा युवा सरोकार नेपालले तयार पारेको ‘नेपालमा बाल पोषणको अवस्था २०७९’ सार्वजनिक गर्दै उक्त राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कुपोषण कम गर्नका लागि सचेतनाको खाँचो रहेको बताए । कुपोषणमुक्त समाज, बालबालिका राष्ट्रिय गौरवको आधार भन्ने नाराका साथ सुरु गरिएको कार्यक्रममा सुनौलो हजार दिनमा नै समग्र मानिसको विकासको आधार रहने भएकाले यसबारे गम्भीर भएर सोच्नुपर्ने उनको भनाइ छ । पुस्तकमा सुझाव दिइएअनुसार पोषणको अवस्था बढाउनका लागि स्थानीय तहले ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

राष्ट्रिय योजना आयोगका सहसचिव डा किरण रुपाखेतीले ‘नेपालमा बालबालिका पोषणको अवस्था’ प्रस्तुतीकरण गर्दै मधेस प्रदेशमा पाँच वर्षमुनिका बालिबालिकामा पोषणको अवस्था निकै कम देखिएको बताए । नेपालमा जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ ले मधेस प्रदेशमा २९ प्रतिशत बालबालिकामा पुड्कोपन, १० प्रतिशतमा ख्याउटेपन, २७ प्रतिशतमा कम तौल र ५१ प्रतिशतमा रक्त अल्पता भएका पाइएको छ । बागमती प्रदेशमा भने अरु प्रदेशको तुलनामा पोषणको अवस्थामा राम्रो देखिएको छ । सन् २००१ मा गरिएको अध्ययनले पोषणको कमीका कारण पाँच वर्ष मुनिको बाल मृत्यु दरप्रति १००० मा ९१ रहेकोमा सन् २०२२ मा घटेर ३३ पुगेको छ ।

यस्तै जन्मेको एक वर्षभित्र शिशुको मृत्यु (प्रति १००० जीवित जन्ममा) सन् २००१ मा ६४ रहेकोमा सन् २०२२ मा २८ रहेको छ । जन्मेको २८ दिनभित्रको शिशुको मृत्यु (प्रति १००० जीवित जन्ममा) सन् २००१ मा ३९ रहेकोमा सन् २०२२ मा २१ छ । नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ को तथ्याङ्कअनुसार नेपालमा पाँच वर्षमुनिका बालबालिकामा हुने पुड्कोपनको दर उच्च छ भने ख्याउटेपन र कम तौलको दर मध्यम छ । राष्ट्रिय मानव अधिकार आयोगका लिली थापाले सामाजिक सुरक्षा भत्ता कति र कहिलेसम्म भन्ने विषयमा समीक्षा गर्नुपर्ने दिन आएको विभिन्न अनुसन्धानात्मक सुझाव आएको बताए ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव यमलाल भुसालले भएका कानुनको कार्यान्वयनका अवस्थाको मूल्याङ्कन गरी राखिएको र बालबालिकाका विषय अन्तरमन्त्रालय सरोकारको विषय रहेको भन्ने विषयमा आफ्नो भनाइ राख्दै सबै कार्य योजना बनाएर जिम्मेवारीसहित काम बाँडफाँट गरिएको बताए । प्लान नेपालको सहयोगमा आयोजित कार्यक्रममा जागृति युवा तथा बाल सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले कुपोषणको समस्या समाधान गर्न नागरिक समाजको महत्वपूर्ण भूमिकामा जोड दिए ।

सङ्घीय मामिला तथा सामान्य मन्त्रालयका उपसचिव रेशम कँडेल, स्वास्थ्य मन्त्रालयको पोषण शाखा प्रमुख लिला विक्रम थापाले सरकारले बहुक्षेत्रीय पोषण कार्यक्रम लागू गरिराखेको र विभिन्न निकायसँग समन्वय गरेर काम भइरहेको कुरा जानकारी गराएका थिए । गैर सरकारी संस्था महासङ्घका महासचिव अर्जुन भट्टराईले नेपालीसँग भएको उत्पादनलाई प्राथमिकता दिन जरुरी रहेको बताउनुभयो । बाल अधिकारकर्मी तारक धितालले पोषणमा लगानी गर्न आग्रह गरे । कार्यक्रममा ७५ वटा नागरिक सङ्घसंस्था १२ विभिन्न राष्ट्रिय सञ्जाल १७ विकासका साझेदार संस्था १५ सरकारी निकाय, सञ्चारकर्मीसहित एक सय २० जनाको सहभागिता थियो ।

प्रतिक्रिया