बुधबार, असार ४, २०८२

पार्टीमा बस्न पाइँदैन भने मात्र विकल्प खोज्छु : नेता रावल

नेपालखोज २०७९ चैत १४ गते १९:२६

काठमाडाैं । नेकपा (एमाले)का नेता डा भीम रावलले पार्टीले बस्न पाइँदैन भनेको अवस्थामा मात्र विकल्प खोज्ने बताएका छन् । धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रियता, विधि, पद्धतिका विषयमा आवाज उठाउँदा आफूलाई एमालेबाट घचेट्ने काम भएको भन्दै यही प्रक्रिया चलिरहे कार्यकर्ता र जनताको सल्लाहमा नयाँ पाइला चाल्ने चेतावनी दिए ।

‘अहिलेसम्म नेकपा (एमाले)को सदस्यमा छु । राष्ट्रियताको प्रश्न उठाउँदा, पार्टीमा विधि र पद्धतिका कुरा गर्दा, पार्टीबाट घचेट्न खोजे विकल्प खोज्छु’, उनले भने, ‘पार्टीमा ५० वर्षसम्म काम गरेको छु । पार्टीमा अन्तिमसम्म सङ्घर्ष गरिरहनेछु ।’ उनले देशमा सङ्कट आए जुनसुकै पार्टीका नेता कार्यकर्तालाई भेट्न सक्ने जिकिर गरे ।

समाजवादीमा जान लागेको हो कि भन्ने सञ्चारकर्मीको जिज्ञासामा उहाँले कुनै नेता कार्यकर्तासँग भेट गर्दैमा अर्को पार्टीमा गएको भन्न नहुने बताइ । उनले अन्तिम विन्दुसम्म पनि एमालेमै रहने प्रयास जारी रहने बताए । नेता रावलले एमाले उपाध्यक्ष विष्णु पौडेललगायतका नेता कार्यकर्ता भड्काउन अछाम पुगेको आरोप लगाउनुभयो । उपाध्यक्ष पौडेलले आफूलाई ‘टिकट माग्न नगएको’ भन्ने अभिव्यक्तिको विरोध गरे ।

‘म २०४८ सालदेखि चुनाव लड्दै आएको छु, कहिल्यै कसैसँग टिकट मागिनँ, तपाईंले माग्नुभयो र ?’, उनले उपाध्यक्ष पौडेललाई प्रतिप्रश्नसमेत गरे ।

प्रतिक्रिया