स्वर्णिम वाग्ले रास्वपा प्रवेश गर्दै, रोक्न गगन–विश्वप्रकाश सक्रिय

काठमाडौं । अर्थशास्त्री स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रवेशको अन्तिम तयारीमा छन् । स्रोतका अनुसार महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहित ४ नेतालाई आफू कांग्रेसमा नरहेको सन्देश समेत पठाइसकेका छन् ।
उनी मंसिरमा सम्पन्न निर्वाचनमा उम्मेदवार बन्न चाहन्थे । सो बेला पनि पार्टी सभापति शेर बहादुर देउवाले टिकट नदिएपछि उपनिर्वाचनमा तनहुँ १ वा चितवन २ बाट उम्मेदवार बन्न चाहन्थे । यो पटक पनि टिकट नपाएपछि कांग्रेस परित्याग गर्दै रास्वपा प्रवेशको तयारी थालेका हुन् ।
उनलाई रास्वपाले आगामी बैशाख १० हुने उपनिर्वाचनमा तनहुँ १ मा उम्मेदवार बन्न प्रस्ताव पेश गरेको छ । ‘शेरबहादुर–आरजु कांग्रेसमा रहिन’ भन्दै उनले भविष्यमा गगन थापा, विश्वप्रकाश शर्मा, डा. शेखर कोइराला र डा. गोविन्दराज पोखरेल नेतृत्वमा आए पुनः सहकार्य गर्ने समेत बताएको कांग्रेसका एक नेताले बताए ।
स्वर्णिमको एसएमएस आएपछि महामन्त्रीद्वय र अरु नेताहरुले निरन्तर सम्पर्कको प्रयास गरेपनि स्वर्णिमसँग सम्पर्क हुन सकेको छैन । कांग्रेसको घोषणापत्र मस्यौदा समितिमा रहेका स्वर्णिम अर्थ जानकार मानिन्छन् ।
स्वर्णिम बाग्लेले केही नेतालाई पठाएको सन्देश
प्रिय दाइ, हजुरहरुको अपार सद्भावका बावजुद म कांग्रेसमा रहन नसक्ने अवस्था आएको छ । देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो । अब कुरेर बस्ने कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै ’डेलिभरी’को प्रयोगमा जान चाहेँ । यो निर्णय लिनुअघि हजुरहरुसँग भेटेको भए निश्चय पनि कांग्रेस नछोड्न भन्नुहुने र त्यसपछि छोड्दा अवज्ञा गरेको हुने भएकोले श्रद्धापूर्वक पछि नै हामी बस्नेछौंँ । कांग्रेस पार्टीमा हजुरहरुको निर्णायक हैसियत बनेको दिन फेरि हामी कुनै न कुनै रुपमा जोडिनसक्ने आशा छ । त्यतिन्जेल जहाँजहाँ रहन्छौँ, त्यहीँबाट सहकार्य र सहयोग गर्ने र अहिलेको आत्मीय मित्रता कायम राख्ने वाचा गर्दछु । – स्वर्णिम
प्रतिक्रिया