युक्रेनको शान्ति प्रक्रियामा चीनको ‘प्रमुख भूमिका’ रहेको म्याक्रोँको धारणा

काठमाडाैं । फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँले युक्रेनको तीनदिने भ्रमणका क्रममा युक्रेनमा शान्ति स्थापनाका लागि चीनको ‘प्रमुख भूमिका’ रहेको बताएका छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटवार्ताअघि बेइजिङमा आयोजित फ्रान्सेली समुदायको भेलालाई सम्बोधन गर्दै म्याक्रोँले फ्रान्सले युक्रेनमा शान्ति र स्थिरताका लागि साझा जिम्मेवारीमा चीनसँग मिलेर काम गर्न चाहेको बताए ।
युक्रेनमा आणविक हतियारको प्रयोगको बेइजिङको विरोध रहेको साथै कीभ र मस्कोबीचको शान्तिको प्रस्तावलाई उल्लेख गर्दै उनले भने, ‘चीनले उसको रूससँगको घनिष्ठ सम्बन्धलाई लिएर प्रमुख भूमिका खेल्न सक्छ ।’ राष्ट्रपति म्याक्रोँको चार वर्षपछिको पहिलो चीन भ्रमण युक्रेनमा जारी द्वन्द्वका कारण महत्वपूर्ण हुने अनुमान गरिएको छ । उनको कार्यालयका एक अधिकारीले सीसँगको वार्तामा दृढतापूर्वक उभिन आफू प्रयासरत रहेको बताएका छन् ।
म्याक्रोँले भने, ‘हामीले द्वन्द्वको सुरुदेखि नै पीडितलाई सहयोग गर्ने निर्णय गरेका छौँ र हामीले यो पनि स्पष्ट पारेका छौं कि आक्रमणकारीलाई सहयोग गर्ने जो कोही पनि अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घनमा सहयोगी भएको ठहर हुनेछ ।’ फ्रान्सेली नेताको भ्रमणको उद्देश्यमा युरोपसँग चीनको व्यापारिक सम्बन्धको संरक्षण र पुनः सन्तुलित गर्नुका साथै एशिया–प्रशान्तमा फ्रान्सको हितको रक्षा गर्नु पनि समावेश छ ।
‘हामीले आफूलाई चीनसँग असम्लग्न हुनु हुँदैन, आफूलाई चीनबाट अलग राख्नुहुँदैन,’ म्याक्रोँले बेइजिङको फ्रान्सेली समुदायसँग भने । फ्रान्स चीनसँग व्यापारिक सम्बन्ध कायम राख्न सक्रिय रूपमा प्रतिबद्ध रहनेछ । ह्वाइट हाउसका अनुसार म्याक्रोँले आफ्नो चीन भ्रमण र युक्रेनका लागि समर्थनबारे अमेरिकी राष्ट्रपति जो बाइडनसँग टेलिफोनमार्फत् छलफल गरेका थिए । म्याक्राेँको कार्यालयले भनेको छ, ‘यो वार्ताले युक्रेनमा युद्धको अन्त्यलाई गति दिन र स्थायी शान्ति निर्माण गर्न फ्रान्स र संयुक्त राज्य अमेरिकाको चीनसँग संलग्नताको साझा इच्छालाई देखाएको छ ।
प्रतिक्रिया