आइतबार, असार १, २०८२

उपनिर्वाचन : आजदेखि निर्वाचन आचारसंहिता लागू

नेपालखोज २०७९ चैत २४ गते ६:३०

काठमाडौँ । आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ । आगामी वैशाख १० गते चितवन–२, बारा–२ र तनहुँ–१ मा निर्वाचन हुँदै छ । 

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले चैत २४ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि निर्वाचन आचारसंहिता २०७९ को सम्पूर्ण व्यवस्था लागू गर्ने निर्णय भएको जानकारी दिए । आयोगले विभिन्न २३ व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुने गरी आचारसंहिता जारी गरेको छ । 

प्रवक्ता पौडेलले उपनिर्वाचन हुने तीन जिल्ला चितवन, बारा र तनहुँमा नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र मन्त्री, संवैधानिक निकाय र पदाधिकारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, सार्वजनिक पद धारण गरेको व्यक्तिलगायतलाई आचारसंहिता लागू हुने बताए । 

आयोगले आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न गराउन आवश्यक व्यवस्था मिलाउन तीनवटै जिल्लाका जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिइएको छ । आयोगले आचारसंहिता उल्लङ्घन भएको घटनाबारे उजुरी दिन चाहने व्यक्तिले लिखित, मौखिक, सामाजिक सञ्जाल, विद्युतीय माध्यमबाट आधार र कारण खुलाई सोसम्बन्धी प्रमाणसमेत संलग्न गरी उजुरी दिन पाउने व्यवस्था गरिएको जनाएकाे छ ।

आचारसंहिता लागू हुने निर्णय गरेलगत्तै बसेको केन्द्रीय आचारसंहिता अनुगमन समितिको बैठकले सम्बन्धित व्यक्तिलाई भ्रामक, गलत र द्वेषपूर्ण अभिव्यक्ति नदिन तथा कसैको चरित्र हत्या हुने, व्यक्तिगत लाञ्छना लगाउने, मानहानि हुने वा यस प्रकारको सामग्री उत्पादन, प्रकाशन र प्रसारण नगर्न÷नगराउन सामाजिक सञ्जाल प्रयोगकर्तालाई सचेत गराएको छ । 

तीनवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालयले बिहीबार नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दै निर्वाचन चिह्न प्रदान गरेको छ । वैशाख १० गते बिहान ७ बजेदेखि हुने मतदानको ४८ घण्टा अगाडि मौन अवधि सुरु हुनेछ । 

प्रतिक्रिया