शनिबार, जेठ ३२, २०८२

सिंहदरबारकाे फाेहाेर प्रकरण : बालेन साहले दिए १४ मन्त्रालयको उदाहरणसहित स्पष्टीकरण

नेपालखोज २०७९ चैत २७ गते ८:१४

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सिंहदरबारकाे फाेहाेर नउठाउनुको कारणबारे स्पष्ट पारेका छन् । उनले त्यो लहडमा अनायासै गरिएको निर्णय नभएर बारम्बार गरिएको प्रयासमाथिको बेवास्ता, गैरजिम्मेवारी र लापरबाहीको अहिलेसम्मको निष्कर्ष भएको जसका कारणले त्यो बाध्यात्मक कदम उठाउनु परेको उनको भनाइ छ ।

उनले आज सामाजिक सञ्जालमा पोस्ट गर्दै साे कुरा बताएका हुन् । उनले भनेका छन् ‘सिंहदरबार काठमाडौं महानगरमै पर्छ । अझ महानगरको कार्यालयबाट ५०० मिटरको दुरीमा सिंहदरबार सुरु हुन्छ । यति हुँदा पनि सिंहदरबारमा बसेको सरकारसँग महानगर पुग्न धेरै कसरत गर्नुपर्छ ।’ संघीय सरकारले त्यसलाई प्राथमिकतामा राखेर गाँठो फुकाइदिओस् भन्ने उनको अपेक्षा छ ।

गत शनिबार सामाजिक सञ्जालमा पोस्ट गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सिंहदरवारको फोहोर नउठाउने घोषणा गरेका थिए । उनले केन्द्र र स्थानीय सरकारबिच समन्वय नभएका र समन्वय भएका कुराहरु कार्यान्वयन नभएका १४ उदाहरणहरु पनि उल्लेख गरेका छन् ।

१. गृह मन्त्रालय : अव्यवस्थित बस्ति व्यवस्थापन, ट्राफिक लाइट व्यवस्थापन, मूर्ति चोरी – ३ मन्त्रीसँग पटक-पटक पहल, सहमति भएर माइन्युट समेत भइसकेको तर कार्यान्वयन नभएको।

२. परराष्ट्र मन्त्रालय : विदेशी नियोगले मिचेको फुटपाथ व्यवस्थापन गर्न पत्राचार

३. शिक्षा मन्त्रालय : सरकारी विद्यालयको लागि डिजिटल टिभी, शिक्षक सरुवा तथा शिक्षकलाई समयमै तलब दिने सम्बन्धमा – दुई मन्त्रीसँग विभिन्न चरणमा कुरा हुँदा पनि कुरा अगाडि नबढेको।

४. स्वास्थ्य मन्त्रालय : सरकारी अस्पताल सरसफाइ, बिमा, सर्वोच्च अदालतले दिएको मन्त्रालयको माथिल्लो तल्ला भत्काउने आदेशको पालना, राष्ट्रिय एम्बुलेन्स (१०२) को काठमाडौं उपत्यकाभरी सेवा दिनलाई बजेट व्यवस्थापन – दुई मन्त्रीसँग विभिन्न चरणमा पहल गरिएको।

५. पर्यटन तथा नागरिक उड्ययन : एयरपोर्टको नक्सा पास, एयरपोर्टको बर्खाको पानीले गर्दा पेप्सीकोला क्षेत्र डुबानको समाधान, एयरपोर्टमा रहेको नेपाल संबत् सुरु भएको ठाउँमा मूर्ति र पार्क बनाउन पहल – दुई मन्त्रीलाई पटक पटक पहल गरिएको।

६. अर्थ मन्त्रालय : ५२ वर्षदेखि तीनकुनेमा सरकारले जग्गा मिचे पनि जग्गाधनीलाई मुअब्जा दिन आनाकानी, महानगरले पाउनु पर्ने घरबहाल कर नेपाल सरकारले उठाएकोबारे, याङ्री र लार्के खोलाको पानी मेलम्चीमा जोडेर १२ महिना नै काठमाडौंमा मेलम्चीको पानी ल्याउने कार्यक्रम – २ मन्त्रीसँग पटक पटक पहल

७. सहरी विकाश : खोला कोरीडोर, खोला सरसफाइ, खोलामा फोहोर प्रशोधन प्लान्ट, अन्डर पास, बन्चरेमा लिचेडको व्यवस्थापन, माटो क्यापिङको व्यवस्थापन अनि साईटको ग्यास पाइपको व्यवस्थापन, वैकल्पिक बाटोको व्यवस्थापन, काठमाडौंमै फोहोर व्यवस्थापन गर्न कानुन र जग्गा – ४ मन्त्रीसँग पटक-पटक पहल।

८. भौतिक यातायात : रिङरोड विस्तार, उपत्यका यातायात प्राधिकरण गठन – दुई मन्त्रीहरूसँग पटक-पटक पहल।

९. सूचना तथा सञ्चार : आइएसपी र टेलिकमबिच एकीकृत पूर्वाधार सञ्चालनबारे जसले गर्दा देशभर पोलमा तार व्यवस्थापन गर्न सकियोस् – २ मन्त्रीसँग पहल

१०. ऊर्जा मन्त्रालय : सडकबत्ती अव्यवस्थित रहेकोलाई व्यवस्थापनमा सहयोग – २ मन्त्रीसँग पहल

११. खानेपानी : मेलम्चीको पानी र पाइप व्यवस्थापन, केयूकेएलको उचित व्यवस्थापन पहल – २ मन्त्रीसँग पटक-पटक पहल

१२. भूमिसुधार मन्त्रालय : सहकारी नियमावली, सहकारी कानुन, सार्वजनिक जग्गा संरक्षण – मन्त्रीसँग पटक-पटक पहल

१३. सङ्घीय मामिला : तीनकुने विवाद पहल, कर्मचारी सरुवा – दुई मन्त्रीसँग पटक-पटक पहल

१४. कृषि  मन्त्रालय : मल खरिद तथा उपत्यकामा आउने तरकारीको परिक्षण – मन्त्रीसँग पटक-पटक पहल

प्रतिक्रिया