बुधबार, असार ११, २०८२

क्वारेन्टाइन व्यवस्थित गर्दै पीसीआरको दायरा बढाउनुपर्ने सांसदको माग

नेपालखोज २०७७ जेठ १३ गते १७:४६

पोखरा । गण्डकी प्रदेश सभाको मंगलवारको बैठकमा विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको बढ्दो संक्रमणलाई लक्षित गरी सरकारले उचित कदम चाल्न माग गरिएको छ ।

प्रदेश सभाको मंगलवारको बैठकको शून्य समयमा बोल्दै सदस्यहरूले सीमा क्षेत्रबाट नेपाली भित्रिने क्रमसँगै कोरोना संक्रमण पनि बढिरहेकाले राखिएका क्वारेन्टाइन व्यवस्थित गर्नुपर्ने र पिसीआरको दायरा बढाउनु पर्ने माग गरे । सदस्यहरूले भित्रिएका सर्वसाधारणको उचित व्यवस्थापनतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।

प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले मुलुक कोरोना भाइरसको मारमा परेको बताउँदै भारतबाट आएका सर्वसाधारणको सुरक्षित व्यवस्थापन अहिलेको आवश्यकता भएको बताए । क्वारेन्टाइन व्यवस्थित बन्न नसकेको उल्लेख गर्दै उनले बनाइएका क्वारेन्टाइनमा खानपान, शौचालय लगायतका समस्या रहेको बताए ।

कोरोनाको रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन स्थानीय तहलाई सहयोग गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले कोरोनाका कारण अर्थतन्त्रमा परेको संकटका साथै विकास निर्माण ठप्प भएकोप्रति गम्भीर बन्नुपर्नेमा जोड दिए ।

अर्का सदस्य कृष्णबहादुर थापाले कोरोनाको रोकथाम र नियन्त्रणमा अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, निर्माणमा खटिएका मजदुर आदिको परिवारका सदस्यको कम्तीमा एक जनाको पीसीआर परीक्षण गर्नुपर्ने आवश्यकता औंल्याए । स्थापित क्वारेन्टाइनको स्तर मापन गर्नुपर्नेमा उनको जोड छ ।

प्रतिक्रिया