कोभिड–१९ रोकथाममा ७ अर्ब खर्च हुने प्रारम्भिक अनुमान
काठमाडौं । नेपालमा अधिकतम १० हजार संक्रमित पुगेको अवस्थामा कोरोना भाइरस (कोभिड–१९) शीर्षकमा झन्डै सात अर्ब रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको स्वास्थ्य क्षेत्र आपतकालीन प्रतिक्रिया योजनामा कोभिड–१९ लाई मध्यनजर गर्दै सार्वजनिक स्वास्थ्य, अस्पताल व्यवस्थापन, सूचना प्रणाली, उपचारलगायत शीर्षकमा ६ अर्ब ८९ करोड ९ लाख ३९ हजार रुपैयाँ खर्च हुने प्रक्षेपण गरिएकोे हो ।
केन्द्रमा १ अर्ब ९३ करोड २६ लाख ७२ हजार रुपैयाँ र प्रदेश तथा स्थानीय तहमा ४ अर्ब ९५ करोड ८२ लाख ६७ हजार रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएकोे छ । क्वारेन्टिन व्यवस्थापनका लागि केन्द्रमा २१ करोड २३ लाख १० हजार रुपैयाँ, स्थानीय र प्रदेश तहमा २ अर्ब १२ करोड ३१ लख खर्च हुने प्रक्षेपण गरिएकोे छ ।
यस्तै, केस अनुसन्धान र कन्ट्याक्ट ट्रेसिङका लागि केन्द्रमा ५० लाख, प्रदेश र स्थानीय तहमा ५ करोड ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएकोे छ । सामुदायस्तरमा स्क्रिनिङ र टेस्टिङका लागि केन्द्रमा ४ करोड २५ लाख ३० हजार रुपैयाँ, प्रदेश र स्थानीय तहमा १७ करोड १ लाख २१ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएकोे छ । संक्रमितको उपचार शीर्षकमा स्थानीय तह र प्रदेशमा १ अर्ब ६० करोड १८ लाख ७५ हजार रुपैयाँ तथा केन्द्रमा ७५ करोड ६१ लाख २४ हजार रुपैयाँ खर्च हुने प्रारम्भिक प्रक्षेपण गरिएको छ ।
निगरानी शीर्षकमा केन्द्रमा ४ करोड ६० लाख, प्रदेश र स्थानीय तहमा ५० लाख खर्च हुने प्रक्षेपण गरिएकोे छ । यस्तै, समुदायको सहभागिता र जोखिम सञ्चार शीर्षकमा केन्द्रमा १ करोड पाँच लाख रुपैयाँ, प्रदेश र स्थानीय तहमा २२ करोड ५० लाख रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएकोे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले कोभिड–१९ रोकथाम नियन्त्रणका लागि सरकारले खर्चसम्बन्धी प्रारम्भिक प्रक्षेपण तयार पारेको बताए । उनले भने, ‘संक्रमण दर बढ्दै गयो भने जुन क्षेत्रमा संक्रमण फैलिएको छ, त्यस क्षेत्रमा रहेका अस्पतालको स्तरवृद्धि गर्न आवश्यक छ ।’
प्रतिक्रिया