एक जना प्रजिअको प्रयासले पनि हुनसक्छ सुशासन

काठमाडौं । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले राहदानी (पासपोर्ट) फारम कार्यालय भित्रैबाट भर्ने व्यवस्था मिलाएको छ । कार्यालयले भित्रैबाट राहदानी फारम भर्ने व्यवस्था मिलाएसँगै सेवाग्राहीहरूलाई सहज भएको छ।
कार्यालय भित्रै फारम भर्ने व्यवस्था भए सँगै पासपोर्ट बनाउने सेवाग्राहीहरूले राजस्व दस्तुर बाहेक अतिरिक्त रकम बुझाउनु नपर्ने भएको छ।
पासपोर्ट बनाउनको लागि अनलाइन माध्यमबाट भर्नु पर्ने फारम विगतमा सेवाग्राहीले स्वमं आफैले भरेर कार्यालयमा बुझाउनु पर्ने रहेकोमा २०७९ चैत्र २२ गतेदेखि कार्यालय भित्रै भर्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिएका छन् ।
विगतमा अनलाइन माध्यमबाट फारम भर्दा जिल्ला प्रशासन कार्यालय बाहिर रहेको अनलाइन सेवा प्रदायकहरूले चर्को मूल्य लिने गरेको भन्दै व्यापक जनगुनासो आए पछि भित्रै बाट फारम भर्ने व्यवस्था मिलाएको प्रजिअ आचार्यले बताए।
सहायक प्रजिअ अनिल पौडेलका अनुसार चैत्र २२ गते देखी वैशाख ११ गते सम्म १ एक हजार ३ सय जनाको निः शुल्क अनलाइन फारम भरी सकेका छन्।
दिनमा सयौँ जना राहदानीको लागि फारमका लागि आउने गरेता पनि टाइम कार्डको आधारमा प्रत्येक दिन ६० देखी ७० वटा पासपोर्टका फारमहरू भरिने गरेको सहायक प्रजिअ पौडेलले जानकारी दिए।
राहदानीको लागि आउने सेवाग्राहीको नाम दर्ता गरेर फाराम भर्न आउनको लागि टाईमकार्ड दिने गरिएको अहिले ५ देखी १० दिन भित्रमै पालो आउने गरेको सहायक प्रजिअ पौडेलले बताए ।
कार्यालयले भित्रैबाट पासपोर्टको फाराम भर्न थाले पछि सेवाग्राहीहरूलाई सहज भएको स्थानीय युवा विजय पौडेलले बताएका छन् । विगतमा एउटा फारम भर्न बिचौलियाहरूलाई कागजात बुझाएर १५ दिन देखी एक महिना सम्म कुरेर पछि चर्को मूल्य तिरेर अनलाइन फारम भर्नु पर्ने बाध्यताबाट मुक्ति मिलेको उनले बताए।
विगतमा सेवाग्राहीले पासपोर्ट फारम भर्न १५०० देखि ३५०० सम्म बिचौलियाहरूलाई बुझाउन परेकोमा अब त्यो धन्दा बन्द हुने आशा रहेको मानव अधिकारकर्मी रामदयाल ठाकुरले बताए ।
नयाँ प्रजिअको यो कदमले एउटा प्रशासकले सुशासनमा कस्तो प्रभाव पार्न सक्दो रहेछ, भन्ने उदाहरण समेत रहको ठाकुरको बुझाई छ। ठाकुरले प्रशासनले यसलाई निरन्तरता दिनु पर्ने समेत बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले अहिले सेवाग्राहीहरूको चापलाई मनन गरेर शनिवार बाहेक सार्वजनिक विदाको दिन पनि कार्यालय खोल्दै आएको प्रजिअ आचार्यले बताएका छन् ।
नयाँ वर्षको दिन वैशाख १ गते पनि कार्यालय सञ्चालनमा आएको र मे एक तारिख अर्थात् मजदुर दिवसको दिन वैशाख १८ गते पनि कार्यालय सञ्चालनमा आउने उहाँले जानकारी दिए।
प्रशासन कार्यालयले राहदानी दस्तुर लगायतका राजस्व बुझाउन सेवाग्राहीहरू सहज होस् भनी एक महिना भित्रै राष्ट्रिय वाणिज्य बैङ्कको काउन्टर पनि प्रशासन कार्यालय भित्रै खोल्ने व्यवस्था मिलाउन आफू लागु परेको प्रजिअ आचार्यले बताएका छन्।
प्रशासन कार्यालय भित्रै वाणिज्य बैङ्कको काउन्टर स्थापना हुने भए पछि विभिन्न दस्तुर तथा राजस्व तिर्न कार्यालयबाट करिब १ किमी टाढा रहेको वाणिज्य बैङ्कमा धाएर लाइनमा बस्नु पर्ने बाध्यता हट्नुका साथै सेवाग्राहीलाई सहज हुने विश्वास गरिएको छ।
प्रतिक्रिया