चितवनमा गाई भैँसीमा लम्पीस्किन रोग

चितवन । चितवनमा गाई भैँसीमा लम्पीस्किन रोग देखा परेको छ । यो रोग ‘क्याप्री पोक्स’ नामक जीवाणुका कारण हुने गर्दछ ।
गर्मी याममा लामखुट्टे, झिँगालगायतका कारण यो रोगको प्रकोप देखिने गरेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका पशु विकास अधिकृत रामचन्द्र आचार्यले जानकारी दिए ।
उनका अनुसार विगत केही दिनदेखि जिल्लामा यो रोगको सङ्क्रमण फैलिएको छ । अहिले जिल्लामा दुई सयभन्दा बढी गाई भैँसीमा यो रोग देखिएको उनले जानकारी दिए ।
इच्छा कामना गाउँपालिका, कालिका, खैरेनी र राप्ती नगरपालिकामा यो रोगको सङ्क्रमण बढ्दो क्रममा रहेको आचार्यले बताए । गाई भैँसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, थुतुनो, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, र्याल काढ्ने, लिम्फनोडहरू सुक्नेजस्ता लक्षण देखा पर्छ ।
यो रोग विशेष गरी सङ्क्रमित लामखुट्टे, झिँगालगायतको टोकाइबाट लाग्ने गर्दछ । सङ्क्रमित गाईबस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवं पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट यो रोग सर्ने गरेको कार्यालयले जनाएको छ ।
यो रोग लाग्न नदिनका लागि खोप लगाउने, विश्वसनीय स्रोतबाट गाई भैँसी खरिद गर्ने, गोठलाई झिँगा, लामखुट्टे तथा अन्य कीराबाट मुक्त राख्ने, सरसफाइमा ध्यान दिने र आवश्यकताअनुसार कीट विकर्षकको प्रयोग गर्नुपर्ने आचार्यले बताए ।
रोग लाग्नबाट बचाउनका लागि लम्पीस्किनविरुद्धको खोप लगाउन आवश्यक रहेको उनको भनाइ छ । यो रोग जिल्लामा गत आर्थिक वर्षदेखि देखा परेको हो ।
प्रतिक्रिया