सुरु हुँदैछ शेखर कोइरालाको देशव्यापी अभियान

काठमाडौं । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले जनताका कुरा सुन्न भन्दै देशव्यापी अभियान सुरुवात गरेका छन्। आज शुक्रवार विराटनगर महानगरपालिकाबाट यो अभियानको थालनी भएको छ। कोइरालाले जिल्ला, निर्वाचन क्षेत्र र गाउँहरूमा पुगेर जनताका कुरा सुन्ने, काँग्रेसका नेता तथा कार्यकर्तासँग संवाद गर्ने तयारी गरेका छन्।
कोइरालाले यस अघि काँग्रेसको १३ औँ महाधिवेशन लगत्तै देशव्यापी अभियान सञ्चालन गरेका थिए। त्यति बेला उनी ७७ वटै जिल्लामा पुगेर जनता तथा काँग्रेस कार्यकर्ताहरूसँग संवाद गरेका थिए। अहिले जिल्लामा पुगेर जनताका कुरा सुन्ने पहिलेकै अभियानलाई निरन्तरता दिन लागिएको बताइएको छ ।
कोइरालाले काँग्रेसमा जागरण ल्याउन र रूपान्तरणका लागि भन्दै अभियान चलाउन लागको तथा जनताका कुरा सुन्न खोजेको बताएका छन् । वैशाख १० को उपनिर्वाचनले काँग्रेसलाई सच्चिनुपर्ने सन्देश दिएको कोइरालाको भनाइ छ । विराटनगरमा कार्यकर्ता भेटघाट र भेला गरेर यो देशव्यापी अभियान थालिने छ ।
कोइरालाले भनेका छन्, ‘अहिले ठाउँ-ठाउँमा काँग्रेसका कार्यकर्ताले पार्टी छाडेको खबर आइरहेको छ, म त्यसलाई रोक्न प्रयास गर्छु ।’ काँग्रेसको १४औँ महाधिवेशनमा सभापति पराजित भएका कोइरालाले १५औँ महाधिवेशनको समेत तयारी थालेका छन् । उनले सरकारका गलत कामको आफूले भण्डाफोर गर्ने समेत बताएका छन् ।
प्रतिक्रिया