बिहीबार, असार ५, २०८२

‘तामुको लेक’ पुग्न पदमार्ग

नेपालखोज २०८० वैशाख १६ गते ६:५०

स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका-२ मा अवस्थित ‘तामुको लेक’मा जानका लागि पदमार्ग निर्माण गरिएको छ । वनजङ्गल हुँदै जानुपर्ने भएकाले त्यहाँसम्म पुग्ने सहजताका लागि पदमार्ग निर्माण गरिएको गाउँपालिका-२ का पूर्ववडाध्यक्ष क्याप्टेन लालबहादुर गुरुङले बताउनुभयो । धार्मिक, पर्यटकीय सम्भावना रहेको उक्त स्थान जडीबुटी तथा तामाखानीका दृष्टिले समेत महत्व मानिन्छ ।

‘धार्मिक र पर्यटकीय दृष्टिले स्थानको छुट्टै पहिचान छ’, उनले भने, ‘टाकुरासम्म सहजताका साथ पुग्न सकियोस भनि पदमार्ग निर्माण गरेका छौँ, यद्यपि यो पूर्ण भएको छैन, आगामी वर्षहरुमा क्रमशः काम गर्दै जाने छौँ ।’ तामुको लेकमा अवस्थित शक्तिको केन्द्र सिद्धको थानमा पूजाआजा गरेमा चिताएको फल पाइने जनविश्वास छ । तामुको लेक उचाइमा रहेकाले विशेष गरी त्यहाँबाट सूर्योदय, सूर्यास्तको अवलोकनसँगै हिमालय शृङ्खला देख्न पाइन्छ । यहाँ विभिन्न प्रकारका जडीबुटी पनि पाइन्छ ।

‘तामाको खानी’ भएकाले यसलाई तामुको लेक भन्ने गरिएको कथन एकातिर छ भने अर्कोतर्फ चारैतिर गुरुङ (तमु) समुदायको बाक्लो बसोबास भएका गाउँले घेरिएको पहाड भएकाले ‘तमु हे’ अपभ्रंश भई तामुको लेक रहेको किंवदन्ती छ । उक्त स्थानमा फूलबारी, कामधेनु गाईको प्रतिमा, गुफा, छहरा छन् । ओझेलमा रहेको तामुको लेकबारे प्रचारप्रसार तथा पूर्वाधार निर्माणमा जोड दिने गरी अभियान सञ्चालन गरिएको उनले बताए । ‘टाकुरामा पुग्न हालसम्म करिब एक हजार सात सय मिटर पदमार्ग निर्माण भएको छ’, उनले भने, ‘भिर छलाएर घुमाउरो गरी पदमार्ग बनाउनुपर्ने भएकाले लम्बाई अझै बढ्छ ।’

टाकुरामा पानी लिफ्टिङ गर्ने र वनभोज स्थलकोरुपमा विकसित गर्ने तयारी भइरहेको उनले जानकारी दिए । गण्डकी प्रदेशस्तरीय पर्यटन तथा उद्योग कार्यालय स्याङ्जामार्फत पदमार्ग निर्माण गरिएको हो । चालु आर्थिक वर्षमा कार्यालयबाट रु दश लाख विनियोजन गरी काम सम्पन्न भइसकेको कार्यालय प्रमुख ठाकुर ढकालले बताए ।

‘विनियोजन भएको रु दश लाख बजेटबाट सात सय २० मिटर ढुङ्गा छापिएको पदमार्ग निर्माण भएको छ’, उनले भने, ‘स्थानीयसहित आन्तरिक तथा बाह्य पर्यटकलाई धार्मिक महत्वसँगै जोडिएको पर्यटकीयस्थल तामुको लेकमा पुग्न सहज हुने भएको छ ।’ कार्यालयमार्फत चालु आवमा ३१ वटा पदमार्ग तथा उद्यान निर्माण भएका छन् ।

प्रतिक्रिया