एमाले सांसद कोइरी फरार रहेको प्रहरीको पत्र संसद सचिवालयमा, निलम्बनमा पर्ने

काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी फरार रहेको नेपाल प्रहरीले लेखेको पत्र संसद सचिवालयमा पुगेको छ । प्रहरीले दोस्रो पटक सांसद कोइरी हत्या आरोपी रहेको र निज फरार रहेकाले पक्राउमा सहयोगका लागि पत्र लेखेको हो। सभामुखलाई सम्बोधन गरेर पत्र आएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले पुष्टि गरे ।
गत चैत १९ गते पारित भएको प्रतिनिधि सभाको नियमावलीको नियम २४८ को उपनियम ३ मा अदालतको आदेशबमोजिम पुर्पक्षका लागि थुनामा बस्नुपर्नेमा त्यस्तो थुनामा नबसी फरार रहेको भएमा निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुने छैन र त्यस्तो अवधिभर निज निलम्बनमा रहने र पारिश्रमिक, सेवा र सुविधा स्थगित हुनेछु भन्ने व्यवस्था छ। नियमावलीको यो व्यवस्था अनुसार सांसद कोइरी निलम्बनमा पर्नेछन्।
सांसद कोइरीविरूद्ध २०७२ भदौ २५ गते सशस्त्र प्रहरी सहायक निरीक्षक थमन बिकलाई घेरा हाली कुटपिट गरी हत्या गरेको आरोपमा उच्च अदालत जनकपुरबाट थुनामा राखी पुर्पक्ष गर्न आदेश भएको थियो। तर सांसद कोइरी तारेख गुजारी फरार छन्।
प्रतिक्रिया