बिहीबार, असार ५, २०८२

के छ चितवनको प्याराग्लाइडिङमा ?

नेपालखोज २०८० वैशाख १९ गते ९:५८

चितवन । पर्यटकीय दृष्टिले तेस्रो स्थानमा रहेको चितवनमा पर्यटकीय गतिविधि बढाउने उद्देश्यका साथ प्याराग्लाइडिङको वैशाख १ गते देखि व्यावसायिक उडान सुरु गरिएको हो । जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि नयाँ गन्तव्यका रुपमा प्याराग्लाइडिङ सुरु गरिएको कम्पनीका अध्यक्ष विजयबहादुर घलेले जानकारी दिए ।

भरतपुर महानगरपालिका–२९ चौकीडाँडामा साहसिक खेलको रूपमा चिनिने प्याराग्लाइडिङको उडान सुरु गरिएको हो । जङ्गल सफारीका लागि चितवन आउने पर्यटकलाई नयाँ गन्तव्यका रुपमा बसाइँ लम्ब्याउन सकिने गरी प्याराग्लाइडिङ सुरु गरिएको उनले बताए ।

समुद्री सतहबाट एक हजार दुई सय मिटर अग्लो स्थानबाट उडान गर्न लागिएको हो । चितवनको चौकीडाँडाबाट प्याराग्लाइडिङ उडेर तनहुँको देवघाट गाउँपालिका–५ मा रहेको त्रिशूली नदीको किनारमा अवतरण गर्ने गरी प्याराग्लाइडिङको उडान सुरु गरिएको हो । यस क्षेत्रबाट उडान गर्दा २० देखि ३० मिनेटको समय लाग्ने उनले बताए ।

हाल १० प्याराग्लाइडिङ उडानका लागि ल्याइएका छन् । दैनिक ४५ जनासम्मलाई उडान गर्न सकिने छ । सन् २०१५ मा विदेशीले यहाँ उडान भरेको पाइन्छ । पोखरा र यहाँमा छुट्टै विशेषता रहेको घलेको भनाइ छ । पोखरामा तालमाथि उड्ने, हिमाल देखिने लगायतका कारण छुट्टै रमाइलो रहेको जनाउँदै उहाँले यहाँको नागबेली परेको सडक र त्रिशूली नदी माथिको उडान अझै महत्वपूर्ण रहेको बताए।

विगत सात वर्षदेखि अनुभव सगाँलेका चालकबाट उडान गरिने प्याराग्लाइडिङबाट डाँडाकाँडादेखि खोलानालाको सुन्दर दृश्य हेर्न सकिने भएकाले यहाँ उडानका लागि राम्रो मानिएको हो । नारायणगढ–मुग्लिन सडकखण्डको भोर्लेबाट नौ किलोमिटर उत्तर र जुगेडीबाट पाँच किलोमिटर उत्तर हिँडेपछि चौकीडाँडा पुग्न सकिन्छ ।

प्रतिक्रिया