सोमबार, जेठ २७, २०८२

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा कसले के भने ?

नेपालखोज २०८० वैशाख २० गते ६:००

काठमाडाैं । सन् १९९३ मा संयुक्त राष्ट्रसङ्घको साधारणसभाले घोषणा गरेपछि हरेक वर्ष मे ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाइँदै आइएको छ । मे ३ (वैशाख २०) का दिन विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक सहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसका लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो । त्यसैको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउने निर्णय गरेको थियो ।

सञ्चार क्षेत्रलाई जवाफदेही बनाउन स्वनियमन प्रणालीको विकास

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सञ्चार क्षेत्रले आफूलाई मर्यादित, जिम्मेवार र जवाफदेही बनाउन स्वनियमन प्रणालीको विकास गर्न आग्रह गरेका छन् । उनले नेपालमा संवैधानिक दृष्टिले पूर्ण प्रेस स्वतन्त्रताको संरक्षण गरिएको र त्यसलाई व्यवहारमा कार्यान्वयनमा ल्याउन सरकारले सञ्चार क्षेत्रको संरक्षण, सम्वद्र्धन एवं विकासका निम्ति यसको पुनःसंरचना, नीतिगत र कानुनी सुधारका क्षेत्रमा जोड दिएको उल्लेख गरे । नेपालको संविधानको मूल मर्म र भावना एवं सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उद्देश्यअनुरूप नेपाली सञ्चार क्षेत्रको पुनःसंरचना अहिलेको प्रमुख आवश्यकता भएको बताउँदै प्रधानमन्त्री दाहालले श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, पत्रकारको दक्षता अभिवृद्धिका लागि आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको स्थापना र सार्वजनिक सेवा प्रसारक संस्थाको स्थापनाका लागि सरकारका तर्फबाट पहल भइरहेको जानकारीसमेत दिए ।

स्वच्छ, स्वस्थ र निष्पक्ष सञ्चार जगत् नै लोकतन्त्रका आधारस्तम्भ
कांग्रेस सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वच्छ, स्वस्थ र निष्पक्ष सञ्चार जगत् नै लोकतन्त्रका आधारस्तम्भ भएको उल्लेख गरेका छन् । उनले प्रजातन्त्रको स्थापनासँगै हाम्रो देशमा पत्रकारिताको विकासक्रम प्रारम्भ भएको र स्वच्छ, स्वस्थ तथा निष्पक्ष सञ्चार जगत् नै लोकतन्त्रका आधारस्तम्भ भएको उल्लेख गरे । विश्व प्रेस स्वतन्त्रता दिवस पत्रकार जगतले आफ्नो हक र हितका निमित्त सङ्गठितरूपमा दृढ साहस र सङ्कल्पका साथ सङ्घर्ष गरेर आफ्नो अधिकार प्राप्त गरेको एक ऐतिहासिक दिन हो । सभापति देउवाले कांग्रेस मर्यादित, जिम्मेवार र स्वतन्त्र व्यावसायिक पत्रिकारिताको प्रवर्द्धन, विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, सञ्चारमाध्यममा सञ्चारकर्मीको पेसागत एवं व्यावसायिक विकास र प्रेस स्वतन्त्रताको पक्षमा सधैँ लड्दै आएको बताए ।

प्रेस स्वतन्त्रतालाई बलियो बनाउन कानून कार्यान्वयनमा दृढ
सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस स्वतन्त्रताको प्रत्याभूतिमा देखिएका डिजिटललगायतका चुनौती कम गर्न साइबर सुरक्षा नीति, साइबर सचेतनाका कार्यक्रममा पनि सरकार गम्भीर रहेको प्रष्ट पारेकी छन् । प्रेस स्वतन्त्रताको सवालमा क्रियाशील राष्ट्रिय/अन्तर्राष्ट्रिय संस्थाको चासोलाई सरकारले नजिकबाट हेरिरहेको छ । सरकारले सञ्चारसम्बद्ध संस्था तथा यस क्षेत्रका विज्ञको राय सुझावका आधारमा कानून बनाउन कार्यदल निर्माण तथा सरोकारवालासँगको विषयगत छलफललाई प्राथमिकता दिएको मन्त्री शर्माको भनाइ छ । पत्रकारिता र पत्रकारको पेसागत तथा भौतिक सुरक्षामा सरकारले कुनै पनि खालको सम्झौता नगर्ने तथ्य दोहो¥याउँदै उनले प्रेस स्वतन्त्रताविरुद्ध हुने घटनामा दोषीलाई उन्मुक्ति दिनुहुँदैन भन्ने कुरामा सरकार स्पष्ट र प्रतिबद्ध रहेको बताइन् ।

प्रेस स्वतन्त्रताका सन्दर्भमा राज्य अझै पनि अनुदार छ
अध्यक्ष पोखरेल

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले प्रेस स्वतन्त्रताका सन्दर्भमा राज्य र राजनीतिक शक्ति अझै पनि अनुदार रहेको बताएका छन् । अध्यक्ष पोखरेलले सरकार र संसद्को प्राथमिकतामा सञ्चारसँग सम्बन्धित कानून र मुद्दा नपर्ने गरेको गुनासो गरे । प्रेसमैत्री कानून निर्माणका लागि पनि सञ्चार जगत्को खबरदारीले काम गरिरहेको उल्लेख गर्दै उनले सञ्चार जगत्को लडाइँका कारण स्थगित भएका कानून निर्माणका प्रक्रियालाई सही ढङ्गले अगाडि बढाउन राज्यसँग प्रतिबद्धता खोजिरहेको बताए । उनले अधिकारको प्रयोगको दिशामा एउटा फड्को नै मार्ने गरी सञ्चार क्षेत्रले आफूलाई अझ क्रियाशील बनाउनका लागि काम गर्नुपर्नेमा समेत जोड दिएका छन् ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबाट लोकतन्त्र मजबुत
मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबाट लोकतन्त्र मजबुत हुने बताएका छन् । उनले नेपालको संविधानले पूर्ण प्रेस स्तन्त्रतालाई अंगिकार गरेको र यसको सुनिश्चितताका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका छन् । ‘प्रविधिको प्रयोगले परम्परागत सञ्चार माध्यम क्रमशः सङ्कटमा पर्दै गएका छन् । प्रविधिलाई आत्मसात गर्दै पत्रकारिताले खोजमूलक र अनुसन्धानमूलक विषयमा ध्यान केन्द्रित गर्न सकोस्, आफैलाई परिष्कृत गर्न सकोस्’, पाण्डेले भने । लोकतन्त्रको पहरेदार राज्यको चौथो अङ्गमाथि जुनसुकै ढङ्गले हुनसक्ने नियन्त्रणलाई अस्वीकार गर्दै प्रेस जगतलाई स्वतन्त्र, मर्यादित र व्यावसायिक बनाउन खेल्नुपर्ने सबै खाले भूमिकाका लागि गण्डकी प्रदेशको सरकार तयार रहेको मुख्यमन्त्रीले उल्लेख गरे ।

प्रतिक्रिया