सोमबार, जेठ २७, २०८२

यस्तो छ २५६७ औँ बुद्ध जयन्ती मनाउने तयारी

नेपालखोज २०८० वैशाख २१ गते ९:४८

काठमाडौं । २५६७ औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवस २०८० को तयारी पूरा भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाख २२ गते बुद्धजयन्ती मूल समारोहको उद्‌घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।

लुम्बिनी विकास कोषले लुम्बिनीमा पत्रकार सम्मेलन गरी कार्यक्रमको तयारीबारे जानकारी गराएको हो। लुम्बिनी स्थित अन्तर्राष्ट्रिय सभाहल तथा ध्यान केन्द्रमा २५६७औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवस विशेष समारोह हुनेछ।

‘विशेष समारोहमा लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, मुख्यमन्त्री, प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरू, स्थानीय सरकार प्रमुखसहित उच्चस्तरीय पदाधिकारी, कुटनीतिक नियोग, विदेशी पाहुनाहरूसमेतको सहभागीता रहनेछ।

बुद्ध जयन्तीको अवसरमा यस वर्षको बैशाख बुद्ध पूर्णिमाको दिनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र लुम्बिनी विकास कोषले विशेष समारोहसाथ मनाउन मूल आयोजक समिति, त्यस अन्तर्गत मूल व्यवस्थापन समिति र विभिन्न उप–समितिहरू गठन गरी तयारी गरिएको कोषका सदस्यसचिव सानुराजा शाक्यले बताए । कार्यक्रमका लागि एक करोड रुपियाँ छुट्टयाइएको उनले बताए ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष तथा प्रचार प्रसार उपसमिति संयोजक ढुण्डिराज भट्टराईका अनुसार वैशाख १९ गते देवदहमा देवदह सुत्त नारी शक्ति प्रवचन कार्यक्रम, वैशाख २१ गते साँझ ७ बजे मायादेबी परिसरमा दीप प्रज्वलन तथा ७ बजेदेखि १२ बजेसम्म महापरित्राण, २२ गते बुद्ध पूर्णिमाको दिन बिहान ६ देखि ७ बजेसम्म पूर्णिमा पूजापाठ, ७ देखि ९ बजेसम्म बुद्धजयन्ति शोभायात्रा तथा बिहान ९ देखि ११ बजे सम्म अन्तर्राष्ट्रिय सभाहलमा बुद्ध जयन्तीको मूल समारोह कार्यक्रम आयोजना हुनेछ ।

त्यसैगरि सोही दिन दिउसो साढे १२ बजेदेखि आयोजनाहुने साँस्कृतिक कार्यक्रम अन्तर्गत साँस्कृतिक संस्थानबाट बुद्ध जीवनीमा आधारित ‘पटाचार’ र स्थानीय कलाकारहरूबाट स्थानीय भेषभूषामा साँस्कृतिक कार्यक्रम हुने कोषाध्यक्ष तथा प्रचार प्रसार उपसमिति संयोजक भट्टराईले बताए ।

त्यस्तै, वैशाख २२ गते पण्डितपुरदेखि रामग्राम अस्थिधातु यात्रा, २३ गते बिहान ८ बजे लुम्बिनीबाट कपिलवस्तुसम्म बोधिसत्त्व सिद्धार्थको शोभायात्रा, बिहान ११ बजे कपिलवस्तु तिलौराकोटमा विशेष समारोह हुने भट्टराईले बताए । बुद्ध जयन्ती एवम् लुम्बिनी दिवसलाई विगतमानजस्तै गरी महत्त्वपूर्ण उत्सवका रूपमा मनाउने कोषको भनाइ छ।

लुम्बिनी विकास कोषका सूचना शाखा प्रमुख हरिध्वज राईले गत वर्षभन्दा यस वर्ष ५१।८६ प्रतिशतले लुम्बिनी आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको बताए ।

लुम्बिनीमा गत वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा बुद्धजयन्ती भव्य रूपमा मनाइएपछि पर्यटकको संख्यामा उल्लेख्य बृद्धि हुनथालेको उनले बताए ।

कोरोना महामारीका कारण बुद्ध जयन्तीको अवसरमा केही वर्षसम्म औपचारिक कार्यक्रमहरू हुन नसकेको उनले बताए ।

शाक्यमुनी बुद्धको जन्म ई.पू. ६२३ मा लुम्बिनीको सुन्दर र पवित्र बगैचामा माता मायादेवीको कोखबाट वैशाख शुक्ल पूर्णिमाका दिन भएको थियो ।

बुद्धको जन्म, बोधिज्ञान प्राप्ति र महापरिनिर्वारणको नियोग परेको दिन अर्थात वैशाख शुक्ल पूर्णिमाको दिनलाई लुम्बिनी विकास कोषले विशेष महत्वका साथ बुद्ध जयन्ती एवं लुम्बिनी दिवसका रुपमा मनाउँदै आएको छ।

प्रतिक्रिया