बिहीबार, जेठ २, २०८२

सुडानको रक्तपातपूर्ण युद्धको चपेटामा सहायताकर्मीहरू

नेपालखोज २०८० वैशाख २३ गते ६:२८

काठमाडाैं । सुडानको युद्धले गरिब देशलाई मानवीय उथलपुथलको चपेटामा पारिरहँदा सहायताकर्मीहरूले अति आवश्यक सहयोग प्रदान गर्ने प्रयासमा घातक जोखिमको सामना गरिरहेका छन् । राजधानी र वरपरका क्षेत्रमा लगभग निरन्तर बमबारी, व्यापक लुटपाट र कम्तीमा पनि तीनवटा ठूला जेल तोडेर कैदीलाई भगाइएको कारण मानवीय सहायताकर्मीहरूले क्षतिको मात्रा यकिन गर्न हिँडडुलसमेत गर्न नसकेको गुनासो गरेका छन् ।

नर्वेली शरणार्थी परिषद् (एनआरसी) का कार्ल स्केम्बरीले भने, ‘देशका विभिन्न भागमा भएको लुटपाटको पुष्टि गर्न हामी त्यहाँ जान सक्दैनौं ।’ ‘हामी हाम्रा सहकर्मीहरूको जीवनलाई खतरामा पार्न सक्दैनौं । इन्टरनेसनल मेडिकल कोरका अनुसार गत अप्रिल १५ मा प्रतिद्वन्द्वी जनरलप्रति वफादार सेनाबीच भएको भीषण सहरी सडक सङ्घर्षका क्रममा कम्तीमा १८ जना सहायताकर्मीको मृत्यु भइसकेको छ । सुडानी नेता अब्देल फताह अल–बुरहानले सरकारी सेनाको नेतृत्व गरिरहेका छन् भने र उनका प्रतिद्वन्द्वी मोहम्मद हमदान डग्लोले शक्तिशाली अर्धसैनिक ¥्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) को कमाण्ड सम्हालिरहेका छन् ।

सशस्त्र द्वन्द्व स्थान तथा घटना तथ्याङ्क परियोजनाका अनुसार यस लडाइँमा करिब ७०० जनाको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् । त्यसैगरी लाखौँ विस्थापित भएका छन् । दुई दशकलामो द्वन्द्वका कारण तहसनहस भएको पश्चिमी डार्फर क्षेत्रमा मारिएका आफ्ना एक स्वयंसेवक एल्शेख मोहम्मद ओमेरलाई एनआरसीले यसअघि नै गुमाइसकेको छ । पश्चिम डार्फर राज्यको राजधानी एल जेनिनामा मारिएका कम्तीमा १९१ जनामध्ये उनी पनि एक थिए, जहाँ सहायता समूहले ‘दर्जनौं बस्तीहरू जलेर नष्ट भएको’ बताएको छ ।

सन् २००३ मा सुरु भएको द्वन्द्वका कारण कम्तीमा तीन लाख मानिसको मृत्यु हुनुका साथै २५ लाख विस्थापित भएको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कमा उल्लेख छ । त्यस द्वन्द्वमा पूर्व तानाशाह ओमार अल–बशीरले जातीय अल्पसङ्ख्यक समूहहरूको विद्रोहलाई दबाउन शक्तिशाली सशस्त्र लडाकू समूह जान्जावीदको गठन गर्नुभएको थियो । यसैको आधारमा आरएसएफको विस्तार भएको थियो ।

प्रतिक्रिया