शुक्रबार, असार २०, २०८२

मह उत्पादन गरेर वार्षिक ३५ लाख आम्दानी

नेपालखोज २०८० वैशाख २३ गते ९:१०

पर्वत । घर वरिपरि मौरीका घारैघार । घर अघि ठुलो सुन्तलाको बगैँचा । बिहानै उठेदेखि साँझ नपरुन्जेल तीनै मौरीका घारको हेरचाह गर्ने मोदी–२ देउपुरस्थित कोरुङ्गाका टीकाराम तिमिल्सिनाको दिनचर्या हो ।

परिश्रम र मेहेनत गर्ने हो भने गाउँमै बसेर पनि लाखौँ रुपैयाँ आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण तिमिल्सिनाले देखाएका छन् । दुई दशकदेखि व्यावसायिक मौरी पालन व्यवसाय गर्दै आउनुभएका कृषक तिमिल्सिनाले मह उत्पादन गरेर वार्षिक रु ३५ लाख रुपैयाँसम्म कमाएको बताए । उनको घरमा अहिले सय मौरीका घार छन् । मौसममा यसको सङ्ख्या थपिन्छ ।

एपि सेरेना जातको मौरी पाल्नुभएका तिमिल्सिनाले यो व्यवसायबाट गतिलो कमाइ गर्न सफल भएको बताए । सुरुमा चिसोले ५० प्रतिशत घाटा ब्योहोर्नुभएका तिमिल्सिनाले पछिल्ला वर्ष सोचे जति नै आम्दानी हुने गरेको बताए ।

उनले वर्षमा दुई पटक मह निकाले । विसं २०५७ बाट व्यावसायिक माहुरी पालन थाल्नुभएका तिमिल्सिनाको मुख्य आम्दानी यही नै हो । तिमिल्सिनाले भने, मह घरबाटै बिक्री हुन्छ ।

गुणस्तरीय भएकाले डुलाउँदै हिँड्नुपर्ने अवस्था छैन । मागअनुसार ग्राहकलाई पुर्याउन सकिरहेको छैन ।’ उनले मह मात्र हैन मौरीको घार र गोलासमेत बिक्री गर्नुहुन्छ ।

उनले गुणस्तरीय मह भएकाले अधिकांश मह घरबाटै बिक्री हुने बताए । उन भने, ‘कुश्माबजार, बागलुङ, काठमाडौँ, पोखरा र बुटवललगायतका क्षेत्र वाट व्यवसायी घरमै आएर लैजान्छन् ।’

विभिन्न संस्थाको सहयोगमा तालिम लिएपछि तिमिल्सिना मौरी पालनमा हौसिए । उनतले वर्षमा तीन सय घारसम्म बिक्री गर्नुहुन्छ । मौरीसहितका घार प्रतिगोटा रु नौ हजार र मह प्रतिकिलो एक हजारमा बिक्री हुन्छ ।

विभिन्न पालिकाले अनुदानमा वितरण गर्ने घार र मौरीको स्रोत तिमिल्सिनाको फार्म बनेको छ । उनले एक सिजनमा सात क्विन्टलभन्दा बढी मह काढ्दै आएको अनुभव सुनाए ।

तिमिल्सिनाले सोही स्थानमा तीन सय सुन्तलाका बोट लगाएर गाउँमा ठुलो सुन्तला बगैँचा पनि बनाउनुभयो तर सुन्तला मर्दै गए । सुन्तलामा भविष्य नदेखेपछि उनी माहुरी पालनतर्फ आकर्षित भए ।

तरकारी खेती, पशुपन्छी तथा कुखुरा पालनमा जस्तो निरन्तर खट्न नपर्ने भएकाले मौरी पालनमा किसानको आकर्षण बढेको अर्का अगुवा कृषक उमाकान्त शर्माले बताए ।

उनका अनुसार अहिले पर्वतका देउपुर, मल्लाज, भङ्गरा, कुर्घा, ठानामौला, पाङराङ, बाच्छा, लुङ्खुलगायत व्यावसायिक मौरी पालक किसानले बर्सेनि सय बढी मौरीसहितका घार उत्पादन गरेर बिक्री गर्दै आएका छन् । सोही अनुपातमा महसमेत उत्पादन भइरहेको छ ।

प्रतिक्रिया