शुक्रबार, असार २०, २०८२

चितुवाले चिथोरेको घाउमा खत त बस्यो, मनबाट डर हटेन

नेपालखोज २०८० वैशाख २३ गते ११:३६

तनहुँ । तनहुँको भानु नगरपालिका–२ ठुलोबगैंचाकी ५५ वर्षीया दिलमाया राईको मनमा साँझ पर्दै गएपछि डर पनि बढ्दै जान्छ। जङ्गल नजिकै सानो झुप्रोमा बस्दै आएकी दिलमायाको मनबाट चितुवाले दिएको पीडा र त्रास अझै हट्न सकेको छैन।

‘चितुवाले चिथोरेको घाउमा खत त बस्यो, तर मनबाट डर हटेको छैन’, दिलमाया भन्छिन्, ‘अहिले चितुवाको आक्रमण त घटेको छ तर, मनबाट डर अझै हट्न सकेको छैन।’ तीन वर्ष अगाडि काखमा खेल्दै गरेको छ वर्षको नातिलाई साँझ पर्ने बित्तिकै चितुवाले आक्रमण गरी घाइते बनाएको त्यो कहाली लाग्दो साँझको डर दिलमायाको मनमाबाट अझै हट्न सकेको छैन।

२०७६ साउन १२ गते घरको पिँडीमा दुई दाजुभाइ खेलिरहेका थिए। दिलमाया उनीहरू नजिकै बसेर साँझको खाना पकाउँदै थिइन्। गाउँ भरी चितुवा आतङ्क फैलिएको थियो। दिलमाया एक सुरमा खाना पकाउँदै पकाउँदै थिइन्। त्यति नै बेला चितुवाले ६ वर्षीय सानो नातिलाई आक्रमण गरी लग्यो। ९ वर्षको ठुलो नाति एक्कासि बाघ भनेर करायो तर, नाति पनि त्यो भन्दा बढी बोल्न सकेन। हातमा आगोको अगुल्टो लिएर कराउँदै दिलमाया चितुवाको पछि लागिन् । चितुवाले नातिलाई कता लग्यो भेउ पाउन नसके पनि घरमाथि नजिकै जङ्गल भएका कारण पक्कै त्यतै लग्यो होला भनी हारगुहार गर्दै जङ्गलतर्फ उकालो लागेको घटना उनको मनमा ताजै छ।

‘म अझै त्यो दिन भुल्न सक्दिन’, दिलमाया भन्छिन्, ‘काखैको नाति चितुवाले खोसेर लगेको थियो। चितुवाले घरघरमा आएर बालबालिकालाई मारेको सुने/देखेको थिए। मेरो पनि मनमा चिसो पस्यो। नातिलाई जीवितै भेट्छु भन्ने आस त मरिसकेको थियो तर, आज म चितुवालाई जसरी पनि मार्छ भनेर चितुवामाथि जाइलाग्न अगाडि बढे।’

‘चितुवाले नातिलाई घिसार्दै घर माथिको जङ्गलमा पुर्‍याइसकेको रहेछ, म पछि पछि कराउँदै गएको थिए’, उनले भनिन्, ‘म कराउँदै आएको देखेर चितुवाले नातिलाई त्यही छाडेर गएछ। नातिको घाटी र टाउकोमा नङ्ग्रा र दाँत गाढी घाइते बनाएको थियो। बेहोस अवस्थामा भेटिएको नातिलाई तत्कालै छिमेकीको सहयोगमा उपचारका लागि डुम्रे लगे। डुम्रेबाट थप उपचारका लागि चितवनस्थित सिएमसिमा पुर्‍याएपछि मेरो नाति बाँच्यो।’

चितुवाले काखैबाट नाति खोसेर लगेको दिलमायालाई हिजै जस्तो लाग्छ। वैदेशिक रोजगारीमा गएकी छोरीका दुई छोराको पालनपोषण र शिक्षादीक्षा गर्दै आएकी दिलमाया अहिले पनि साँझ पर्दा नपर्दै चितुवा आइहाल्छ कि भन्ने त्रासमा रहन्छिन्। उनले भनिन्, ‘दिउँसोको समयमा नातिहरू आफै विद्यालय जाने आउने गरे पनि घरमा भएको समयमा एकै छिन कतै गए भने मनमा डर जागिहाल्छ, कतै चितुवाले दाउ पो हेरेर बसेको छ कि ?’

यस्तै, चितुवाले चिथरेको दायाँ हातको घाउ अझै पनि दुख्ने गरेको व्यास नगरपालिका–११ की ४९ वर्षीय दिलमाया गुरुङ बत्ताउँछिन् । गत भदौ १२ गते राती घरको बराण्डमा सुतिरहेको ठाउँमा चितुवा आएर उनको ९ वर्षीय छोरा शंकरलाई आक्रमण गर्‍यो। सँगै सुतेको छोरालाई चितुवाले खोस्न थालेपछि उनी चितुवामाथि जाइलागेर छोराको ज्यान बचाइन् । त्यही क्रममा उनको पनि दायाँ हातमा चितुवाले चिथोरेको थियो।

‘घाउ त ओभानो भइसकेको छ, तर कहिलेकाहीँ दुख्ने गर्छ’, उनले भनिन्, ‘यो  घाउ र दुखाई भन्दा पनि मेरो छोरा आज जीवित छ, मेरा लागि यो नै ठुलो कुरा हो।’ त्यसयता आफूले चितुवा नदेखे पनि गाउँलेले चितुवा देखेको भन्दा कतै चितुवा फेरि घरमै आइहाल्छ कि भन्ने त्रास भने अझै कायमै रहेको छ। गुरुङले भनिन्, ‘त्यस घटनापछि छोरा पनि डराउने गर्छ। कहीँ कतै एक्लै जान मान्दैन। म पनि पहिलेभन्दा बढी सतर्कता अपनाउँछु।’

२०७४ फागुन १ गते शिवरात्रिका दिन भानु–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठलाई चितुवाले आक्रमण गरी ज्यान लियो। यो घटना तनहुँको पहिलो हो। घरबाट ५ सय मिटर पर रहेको मामाघर गएका विशाललाई मामाघर नजिकैको खोल्साबाटै चितुवाले आक्रमण गरी करिब १५० मिटर पर पुर्‍याएको थियो। दायाँ साँप्रा खाइसकेको अवस्थामा विशालको शव भेटियो। यो घटनाले विशालको आमाबुबा वीरेन्द्र र रुपा श्रेष्ठको मनमा ठुलो आघात पुर्‍यायो।

चितुवाको आक्रमण यतिमै सीमित रहेन। वि.सं. २०७४ फागुन यता चितुवाको आक्रमणमा परी १४ जना बालबालिकाले ज्यान गुमाएका छन्। यो अवधिमा चितुवाको आक्रमणमा परी १६ जना बालबालिका घाइते भएका छन्।

तनहुँको भानु नगरपालिकाका वडा नम्बर १, २, ३ र ४ क्षेत्रमा चितुवाको आतङ्क बढी थियो। यस क्षेत्रमा अहिले चितुवा आतङ्क केही कम भए पनि जिल्लाको आँबुखैरेनी, बन्दिपुर, व्यास र शुक्ल गण्डकी क्षेत्रमा चितुवाले बालबालिकालाई निशाना बनाउँदै आएको छ। चितुवाको आक्रमणमा परी ज्यान गुमाउने र घाइते हुनेमा करिब २ देखि १२ वर्ष उमेर समूहका बालबालिका छन्। विशेष गरी चितुवा बिहान र साँझपखको झिसमिसे अँध्यारोको समयमा मानवबस्तिमै आएर खेलिरहेका बालबालिकालाई आक्रमण गर्ने गरेको छ।

चितुवाको आक्रमणबाट वि.सं. २०७४ यता भानुमा ६, आँबुखैरेनीमा एक, बन्दिपुरमा ४, शुक्ल गण्डकीमा २ र व्यासमा एक गरी १४ जना बालबालिकाले ज्यान गुमाइसकेका छन्। यस अवधिमा करिब २०५ वटा घरपालुवा जनवारलाई चितुवाले मारेको छ। घर बस्तीमै यसरी चितुवा आएर किन मानिसलाई आक्रमण गर्न थाल्यो स्थानीयले अझै भेउ पाउन सकेका छैनन्।

चितुवा नियन्त्रणका प्रयास

चितुवा मानवबस्तिमै आएर आक्रमण गरी बालबालिकाको ज्यानै लिन थालेपछि सरोकारवाला निकायले चितुवा नियन्त्रणका लागि विभिन्न उपायहरू अपनाएका थिए। जङ्गलमा फुट ट्र्याप, क्यामेरा ट्रयापिङ, विशेष सुरक्षा दस्ता परिचालन, बाख्रा सहित खोरमा पासो थाप्ने, वनमा पानी पोखरी निर्माण गर्ने, घरवरपरका झाँडी फडानी तथा सरसफाइ, जनस्तरमा सचेतना लगायतका काम भए पनि चितुवा आतङ्क अझै न्यूनीकरण हुन सकेको छैन।

भानु नगरपालिकाले वन्यजन्तुबाट मानवमा भएको क्षति न्यूनीकरण, व्यवस्थापन समिति नै गठन गर्‍यो। उक्त समितिले वडा नं. १, २, ३ र ४ का वडा अध्यक्षहरूको नेतृत्वमा चितुवा हिँड्ने सम्भावित स्थानमा गौडा कुरी स्थानीय सिकारी, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र जनसमुदायको संयुक्त गस्ती गर्दै सम्भव भएसम्म नियन्त्रणमा लिने नभए मार्नेसम्मको निर्णय गरे।

यस्तै, जिल्ला प्रशासन कार्यालय तनहुँले २०७६ असोजमा नरभक्षी चितुवा मार्न निर्देशन दिएको थियो। स्थानीय प्रशासन ऐन २०२८ को दफा ९(४) बमोजिम हिंस्रक नरभक्षी चितुवालाई मारी मृत चितुवा डिभिजन वन कार्यालय तनहुँमा बुझाइदिन भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँलाई पत्राचार समेत गर्‍यो। तर, चितुवा आक्रमण भने नियन्त्रणमा आउन सकेको छैन।

चितुवाबाट बच्न देवीको पूजा

नरभक्षी बनेको चितुवा नियन्त्रणका लागि सरोकारवाला निकायले गरेका अनेक प्रयासबाट पनि चितुवा आतङ्क नरोकिएपछि गाउँलेले देवीलाई सम्झना पुगे। भानुको वडा नम्बर १, २, ३ र ४ मा करिब डेढ वर्षको अवधिमा चितुवाको आक्रमणबाट ६ जना बालबालिकाले ज्यान गुमाएका थिए भने ७ जना घाइते भएका थिए। चितुवाको आक्रमणबाट आफू र बालबालिकालाई पनि जोगिनाका लागि गाउँलेले देवीदेवताको पूजा अर्चना र भाकल गर्न थाले।

चितुवा नियन्त्रणमा विभिन्न प्रयासहरू गर्दा पनि चितुवाको आक्रमण नरोकिएपछि देवीदेवता रिसाएकाले यो विपत्ति आएको भन्दै २०७६ कात्तिक १९ गते गाउँलेले सामूहिक रूपमा भएर र कालिका देवीको पूजा गरे। चितुवाले दुःख दिएपछि देवी खुसी पार्न भन्दै भानु–२ नारेश्वरटार स्थित थक्रेक कालिका देवीको मन्दिर र भानु–१ स्थित भीमसेन थुम्की मन्दिरमा भयरको कोरी पूजा गरेका थिए। भानु–१ का सुरेन्द्र बोहोरा भन्छन्, ‘देवी रिसाएर गाउँमा चितुवा आतङ्क बढेको हो कि भनी हामी गाउँले भेला भएर देवीलाई खुसी पार्न पूजा गरेका थियौँ।’

स्थानीय प्रशासन, डिभिजन वन कार्यालय, नगरपालिका तथा स्थानीय बासिन्दाले समेत चितुवा नियन्त्रणका लागि विभिन्न उपायहरू अपनाइसकेका थिए। तर, पनि नरभक्षी चितुवा नियन्त्रणमा नआएको र झनझन घरघरमै आई बालबालिकालाई आक्रमण गर्न थालेपछि गाउँलेहरू देवीको शरणमा पुगेका थिए। ‘आधुनिक युग भए पनि हामीले हाम्रा बालबच्चा गुमाउनु पर्दा अन्धविश्वास जस्तै भयौँ’, बोहोराले भने, ‘त्यस पुजा यता भानुमा चितुवाले घरपालुवा जनवार मारे पनि बालबालिकालाई भने आक्रमण गरेको छैन। दैविके शक्तिले गर्दा यस्तो भयो कि भन्ने हामीलाई पनि विश्वास लागेको छ।’

भानु–२ मा करिब २५० घरधुरीका बासिन्दाले देवीलाई खुसी पार्न २ वटा बोकाको बलि दिएका थिए। प्रायः चैते दसैँमा पञ्च वली सहित यो मन्दिरमा स्थानीयले पूजा अर्चना गर्ने गरे तापनि पुरोहित बोलाएर चण्डी पाठ भने गरिएको थिएन। चैते दसैँमा पूजा गर्दा विधी नपुगेर देउता रिसाएर देवीले श्राप दिएकी हुन कि भनेर त्यो बेला गाउँलेहरूले ३ जना पुरोहित बोलाएर चण्डी पाठ र हवन समेत गरेको भानु–२ नारेश्वरटारकी सिता अधिकारी बताउँछिन् । यसै गरी भानु–१ स्थित भीमसेन थुम्की मन्दिरमा भीमसेन थुम्की सामुदायिक वनमा आबद्ध १० वटा टोल सुधार समितिले प्रति टोल १/१ वटा बोका बलि दिएर भयरको पूजा अर्चना गरेका थिए।

साँझ नपर्दै गाउँ सुनसान

२०७६ असोजबाट भानुका ४ वटा वडा साँझ नपर्दै सुनसान हुन्थे। साँझ ५ देखि ७ बजेको समयमा चितुवा मानव बस्तीमा आई घरको पीढी र आँगनमा खेल्दै गरेका बालबालिकालाई आक्रमण गरी ज्यानै लिन थालेपछि साँझ पर्न नपाउँदै झ्याल ढोका थुनेर घर भित्र बस्न बाध्य भएको भानु–२ कि सिता अधिकारी बत्ताउँछिन् । ‘चितुवा प्रभावित क्षेत्रका अधिकांश गाउँ बस्ति साँझ ५ बज्न नपाउँदै प्रायः सुनसान हुने गर्दथे’, उनले भनिन्, ‘त्यो एक वर्षको समय त आफ्नै घरमा बस्दा पनि जेलमै बसेको जस्तो हुन्थ्यो। खाना पकाउने, खाने, बालबच्चा खेल्नेदेखि दिशापिसाव पनि घरभित्रै हुन्थ्यो।’

विगतका दिनलाई स्मरण गर्दै भानु–२ फुस्रे टारका ७४ वर्षीय सुरजकुमार श्रेष्ठ भन्छन्, ‘घरमा हामी बुढाबुढी मात्रै थियौ। शौचालय घरभन्दा अलिक पर थियो। रातीको समय शौच लाग्यो भने बहिरा निस्कनै डर भएकाले घरभित्रै एउटा कुनामा शौचको व्यवस्था मिलाएका थियौँ।’ ग्रामीण क्षेत्रका बासिन्दामा शौचालय घरभन्दा टाढा बनाउनुपर्छ भन्ने सोचका कारण घरबाट ५० मिटर परा शौचालय बनाए पनि चितुवा आतङ्क पश्चात् यस क्षेत्रका बासिन्दाले घर नजिकै शौचालय बनाउन थाले । श्रेष्ठ भन्छन्, ‘नयाँ घर बनाउनेले त घरभित्रै शौचालय बनाएका छन् तर पुराना घर हुनेले पनि अहिले घरछेउमै शौचालय सारेका छन्।’ -INS

प्रतिक्रिया