७८ वर्ष बितिसक्दा पनि सम्पन्न भएन हुलाकी राजमार्ग

झापा । राणा प्रधानमन्त्री पद्म शमशेरले हुलाकीहरूलाई चिठ्ठी आदान प्रदान गर्न छिटो र सजिलो होस् भन्ने उद्देश्यले निर्माण सुरु गरेको हुलाकी राजमार्गको निर्माण कार्य अझै सकिएको छैन ।
विक्रम संवत् २००२ देखि २००४ सम्म सत्तामा रहेका बेला प्रधानमन्त्री पद्य शमशेरले यो सडकको निर्माण कार्य अघि बढाएका थिए । सडक निर्माणको काम सुरु भएको ७८ वर्ष पूरा भएको छ । तर, सडक निर्माणको काम अझै सकिएको छैन ।
हुलाकी राजमार्गको कूल लम्बाइ एक हजार ८५७ किमी रहेको छ । यो राजमार्गले पूर्वमा मेचीदेखि पश्चिममा कञ्चनपुरको दोधारा चाँदनीको तराईका भूभागका २० जिल्लालाई छोएको छ ।
निर्माण सुरु भएको ७८ वर्षपछि हुलाकी राजमार्ग अन्तरगत झापामा पर्ने ४८ किलोमिटर सडक खण्डमा कालोपत्रे गर्ने कार्य सम्पन्न भएको छ । दुई चरणमा गरिएको कालोपत्रेको काम हालै सम्पन्न भएको हुलाकी राजमार्ग निर्देशनालयका इन्जिनियर दीपेन्द्र चौधरीले बताए ।
मेची नदीदेखि राजगढसम्मको सडक कालोपत्रे गर्ने कार्य पहिलो चरणमा सम्पन्न भएको र राजगढदेखि रतुवा खोलासम्मको काम दोस्रो चरणमा सम्पन्न भएको उनको भनाई छ । सडकमा कालोपत्रे गर्ने काम सम्पन्न भए पनि पुल निर्माणको काम भने सुचारु नै रहेको बताइएको छ ।
पीएस, गजुरमुखी–मोतीदान कन्स्ट्रक्सन जेभिले सडक निर्माणका लागि ठेक्का लिएको हो । मेचीदेखि राजगढसम्मको सडक कालोपत्रे सकिए लगत्तै राजगढदेखि रतुवासम्मको २८ किलोमिटर सडक खण्ड निर्माण कार्यलाई अघि बढाइएको थियो
मोतिदान कन्ट्रक्सनका व्यवस्थापक मनोज उप्रेतीले भने – सबै सडक खण्डमा कालोपत्रे गर्ने काम सम्पन्न भइसकेको छ केही स्थानमा सडक मर्मत कार्य मात्र बाँकी छ । त्यो पनि केही समयमा सम्पन्न गर्दै सडक हस्तान्तरण गर्ने पक्षमा कम्पनी पुगेको छ ।
वर्षामा आएको बाढीले माई खोला आसपासको सडकमा क्षति पुर्याएको र क्षतिग्रस्त सडकलाई मर्मत गर्दै कालोपत्रे गर्ने काम अघि बढाइएको छ उप्रेतीले भने – केही ठाउँको मर्मत कार्य सम्पन्न गरे लगत्तै सडकमा मार्किङ गर्ने र बोर्ड राख्ने काम गर्छौ । हुलाकी राजमार्ग अन्तर्गत राजगढदेखि रतुवा पुलसम्म २८ किलो मिटर सडक कालोपत्रेका लागि ७५ करोड ३२ लाख ३१ हजार ३९१ रुपैयाँ ५० पैसामा ठेक्का लागेको हो ।
२०६९ जेठ २४ गतेको मन्त्री स्तरीय निर्णयपछि यो राजमार्ग निर्माणको कामले तीव्रता पाएको थियो । त्यस लगत्तै २०७९ साल असोज २४ सडक निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाइएको थियो ।
झापामा हुलाकी राजमार्ग निर्माण कार्य सम्पन्न भए पनि मोरङमा भने समयमा सडक निर्माण सम्पन्न नहुँदा यो सडक अलपत्र बनेको छ । बन्दा बन्दैको सडक बनाउन छाडेर निर्माण व्यवसायी बेपत्ता भएपछि मोरङस्थित हुलाकी सडक अलपत्र बनेको हो ।
बिना जानकारी सडक निर्माण कार्य ठप्प पारेर निर्माण व्यवसायी बेपत्ता भएसँगै सडक निर्माण कार्य अलपत्र बनेको हो । निर्माण व्यवसायी बेपत्ता बनेसँगै सडक निर्माण कार्य नै ठप्प भएपछि जनप्रतिनिधि अहिले सडक सङ्घर्षको तयारीमा पुगेका छन् ।
समयमा सडक नबन्दा स्थानीयले सास्ती पाएपछि प्रतिनिधि सभा, प्रदेश सभा सदस्यहरू, स्थानीय सरकारका प्रमुखहरूले विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै सडक संर्घष गर्ने चेतावनी दिए ।
मोरङमा हुलाकी सडकको कूल लम्बाइ ४४ किलोमिटर छ । त्यसमध्ये विराटनगर बजार क्षेत्रको अढाई किलोमिटर क्षेत्रबाहेक सबैतिर सडक निर्माणकै चरणमा छ । जसमध्ये रतुवा खोलादेखि १६ दशमलव ५ किलोमिटर पश्चिमसम्मको क्षेत्रको सडकको काम लगभग पूरा भइसकेको छ ।
पिएस गजुरमुखी मोतीदान जेभिले लिएको यो खण्डको काममा समस्या नभएको हुलाकी राजमार्ग निर्देशनालय इटहरीले जनाएको छ त्यस्तै रंगेलीदेखि बेतौनासम्मको ७ दशमलव ५ किलोमिटर सडक पनि कालोपत्रे भइसकेको छ । कालिका मैना चुली वेदाङ्सी जेभिले गरेको यो काम पनि सकिएको प्रदेश सांसद गणेश उप्रेतीले बताए ।
बेतौनादेखि हाट खोलासम्मको क्षेत्रको सडकमा सबैभन्दा धेरै समस्या देखिएको छ । दुई वटा प्याकेजमा भइरहेको काममध्ये बेतौनादेखि नयाँ बजारसम्मको १२ किलोमिटर क्षेत्रको काम एक महिनायता ठप्प छ । पिएस गजुरमुखी मोतीदान जेभिले गर्दैगर्दाको काम छाडेको हो ।
‘त्यो खण्डमा ग्राभेलदेखि कालोपत्रसम्मको काम गरिनुपर्ने हो’, हुलाकी सडक कार्यालयका सूचना अधिकारी प्रमोद खतिवडाले भने – ‘तर, बिना जानकारी पिएस गजुरमुखी मोतीदान जेभीका ठेकेदार बेपत्ता छन् ।’
नयाँ बजारदेखि हाट खोलासम्मको सडकको पनि अवस्था त्यस्तै छ । यो खण्डको कूल लम्बाई साढे ५ किलोमिटर हो । श्रेष्ठ कन्स्ट्रक्सनले जिम्मा लिएको यो सडक पनि महिना दिनभन्दा बढी समयदेखि अलपत्र छ ।
यसरी दुई वटा घना आवादी भएको ठेक्का प्याकेज क्षेत्रमा काम रोकिएपछि सांसदहरूसहित जनप्रतिनिधिले विराटनगरमा पत्रकार सम्मेलन गर्दै आन्दोलनको चेतावनी दिएकाे हो ।
हुलाकी सडक आयोजनाको काम अलपत्र परेपछि प्रतिनिधिसभाका सांसद द्वय ऋषिकेश पोखरेल र योगेन्द्र मण्डल, कोसी प्रदेशसभाका ६ जना सांसदहरू गणेश उप्रेती, लिलाबल्लभ अधिकारी, जयप्रकाश चौधरी, भीमप्रसाद पराजुली, गयानन्द मण्डल र अमृत अर्यालले आन्दोलनको चेतावनी दिएका हुन् ।
उनीहरूसँगै रतुवामाई नगरपालिकाका प्रमुख नागेश्वरप्रसाद सिंह, सुनवर्षी नगरपालिकाका प्रमुख श्याम राजवंशी, रंगेली नगरपालिकाका प्रमुख दिलिप बगडिया, धनपालथान गाउँपालिकाका अध्यक्ष जिवछ गच्छदार र कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले पनि आन्दोलनको चेतावनी दिएका हुन् ।
यता हुलाकी राजमार्ग अन्तरगत नै झापामा पर्ने कनकाई, बिरिङ तथा रतुवा नदीका पुल धेरै वर्षदेखि अलपत्र अवस्थामा छन् । मेचीदेखि महाकालीसम्म अवरोधबिना सवारीसाधन चल्न सक्ने वैकल्पिक राजमार्गको रूपमा हेरिएको हुलाकी राजमार्ग समयमा नै निर्माण सम्पन्न हुने हो भने करिब ८० लाख तराईवासी प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् ।
राष्ट्रिय गौरवको हुलाकी राजमार्गमा हालसम्मको भौतिक प्रगति ७० प्रतिशत पुगेको छ । एक हजार आठ सय ५७ किमीमध्ये अहिलेसम्म नौ सय ५७ किमी कालोपत्रे सकिएको हुलाकी राजमार्ग निर्देशनालयले जनाएको छ ।
आर्थिक वर्ष २०६५र ६६ मा भएको समझदारीमा भारतीय प्राविधिक र निर्माण व्यवसायी उताबाट आएर बनाउने भन्ने योजना बनेको थियो । विभिन्न कारणले त्यो स्वरूपमा काम हुन सकेको थिएन । भारतीय पक्षले बिचैमा छाडेर फर्किएपछि आव २०७३र ७४ मा हुलाकी राजमार्ग आयोजना निर्देशनालय बनेर सरकारले बाँकी निर्माण अघि बढाएको थियो ।
योजनाअन्तर्गत नै आठ सय ८१ किमी लम्बाइको शाखा सडक (फिडर सडक) को निर्माण भइरहेको छ । यसमध्ये दुई सय ४५ किमी भारत सरकारले र बाँकी नेपाल सरकारले निर्माण गर्ने समझदारी थियो ।
भारत सरकारले निर्माण सम्पन्न गरेर हस्तान्तरण गरिसकेको छ भने बाँकीमा सरकारले निर्माण गरिरहेको छ ।राष्ट्रिय योजना आयोगले हुलाकी राजमार्ग आयोजना आव २०७९/८० सम्ममा सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भने विगतका वर्षमा कोभिडका कारणले निर्माण हुन नसकेकाले पनि राष्ट्रिय गौरवका सडक योजनाको लक्षित समय बढाउनुपर्ने बताएको छ ।
प्रतिक्रिया