बिहीबार, असार ५, २०८२

आठ कराेडकाे काराेबार गर्दै सकियाे पाल्पा महोत्सव

नेपालखोज २०८० वैशाख २५ गते ५:४५

पाल्पा । पाल्पामा सञ्चालन भएको महोत्सव सम्पन्न भएको छ । पाल्पा उद्योग वाणिज्य सङ्घको आयोजनामा गत वैशाख १४ गते देखि सुरु भएको महोत्सव आइतबार सम्पन्न भएको हो ।

दश दिनसम्म चलेको महोत्सवमा करिब आठ करोड बराबरको कारोबार भएको तथा करिब तीन लाख दर्शकले मेला अवलोकन गरेको सङ्घका अध्यक्ष शैलेन्द्र भट्टराईले जानकारी दिए। स्थानीय उत्पादन, कृषि, घरेलु, पाल्पाली ढाकालगायतका विभिन्न वस्तु मेलाको आकर्षण थिए ।

महोत्सवको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइतबार समापन गर्दै निजी क्षेत्र र सरकार एकापसमा मिलेर काम गर्नुपर्ने बताए । अहिले देश चरम आर्थिक सङ्कटमा गुज्रिएकाले आर्थिक चलायमान गर्न, व्यापार व्यावसाय बढाउन निजी क्षेत्र र सरकार मिलेर काम गर्नुपर्ने उनको जोड थियो ।

‘मेला महोत्सवबाट आर्थिक चलायमान हुने, स्थानीय उत्पादनहरू बिक्री वितरणमा टेवा पुग्ने, स्थानीयस्तरका उद्योगहरू फस्टाउँदै जाने भएकाले उद्योगी व्यवसायी सङ्घसंस्थाले मात्र यस्ता अभियान सञ्चालन गर्नुपर्छ’, उनले भने, ‘महोत्सवले आर्थिक क्रियाकलापलाई चलायमान बनाउने हुँदा मेला सञ्चालनमा उद्योग वाणिज्य सङ्घले राम्रो भूमिका खेलेको छ ।’

उनले अहिले देशमा उद्योग व्यवसायीभन्दा भिन्न प्रकृतिका विभिन्न क्लब सङ्घसंस्थाहरूले पनि महोत्सव गरेर व्यक्तिगत फाइदा लिने काम भइरहेकाले राज्यले यस्ता संस्थाहरूलाई नियन्त्रण गर्नुपर्ने बताए । स्थानीय सरकारले लगानी गर्ने उचित वातावरण सिर्जना गरिदिए पाल्पाका पर्यटकीय क्षेत्रमा लगानी गर्न आफू तयार रहेको समेत ढकालले प्रतिबद्धता जनाए ।

प्रतिक्रिया