विश्वका दश अद्वितीय तथा विलासी होटेल

काठमाडाैं । यो संसारमा यात्रा गर्ने अनेकौं उपाय छन्। यसमा पहिलो नाम आउछन् फक्कड घुमाईको । यात्रा भन्ने बित्तिकै बजेटको कुरा आउँछ । जब हामी यात्रा गर्ने योजना बनाउँछौं, त्यतिबेला धेरै कुरामा सम्झौता गर्नुपर्ने हुनसक्छ । विश्वका १ प्रतिशत मानिस अर्थात् अति धनी र सुपरस्टार सेलिब्रेटीहरू पनि यात्रा गर्छन् तर उनिहरु प्राइभेट जेट, प्राइभेट आइल्याण्डभन्दा तल झर्दैनन् । निस्सन्देह यदि कसैको हातमा यति धेरै पैसा छ भने उसले बस्नका लागि अदभुत ठाउँ नै रोज्छ । आज हामी संसारका केही यस्ता होटल, रिसोर्ट तथा भिल्लाहरुको कुरा गर्दैछौं जुन हरेक हिसाबले अद्वितीय छन् ।

होटेल भिल्ला होनेग, स्विजरल्याण्ड
सन् १९०० मा निर्मित यो सुन्दर होटल स्विट्जरल्याण्डको माउन्ट बर्गेनस्टकमा अवस्थित छ । यो विलासी भिल्लामा २३ वटा लक्जरी कोठा, निजी सिनेमा हल, वेलनेस सेन्टर तथा तातो इन्फिनिटी पूल पनि छ ।
ओबेराय उदयविलास, भारत
भारतको सबैभन्दा सुन्दर होटलहरू मध्ये एक ओबेराय उदयविलास उदयपुरको पिचोला तालको किनारमा अवस्थित छ। सुन्दर झरना, पोखरी र हरियाली बगैंचा संगै शाही भव्यताले यो होटललाई अद्वितीय बनाएको छ । भव्य दरबारहरूले घेरिएको उदयपुरको सबैभन्दा महँगो होटल मध्ये एक ओबेराय उदयविलास धेरै बलिउड चलचित्रको सुटिङ स्थल पनि हो।
अमनगिरी रिसोर्ट, अमेरिका
क्यान्यन प्वाइन्ट, युटा, संयुक्त राज्य अमेरिकामा ६०० एकड मरुभूमिको बीचमा अवस्थित यो रिसोर्ट यसको प्राकृतिक दृश्य, विभिन्न रंग तथा बनावटको मिश्रण अनि यसको सुन्दर डिजाइनका लागि प्रसिद्ध छ। यो लक्जरी रिसोर्ट भित्र लक्जरी स्विमिङ पुल, आर्ट ग्यालरी, लाइब्रेरी, डाइनिङ रुम आदि सबै सुविधाहरू उपलब्ध छन् ।
भाइसराय होटल, इन्डोनेसिया
इन्डोनेसियाको बालीमा अवस्थित भाइसराय होटलले आफ्नो आकर्षक दृश्यका कारण सबैको मन जित्छ। बालीको भ्याली अफ द किङमा अवस्थित यो लक्जरी भिल्ला रिसोर्ट विदेशी पर्यटकहरुको पहिलो रोजाइ हो । यो विश्वको उत्कृष्ट उष्णकटिबन्धिय रोमान्टिक लक्जरी होटलहरू मध्ये एक हो । यो होटल सेलिब्रेटीहरुको गोप्य विवाहका लागि पनि प्रसिद्ध छ ।
कटिकियास होटेल, ग्रीस
ग्रीसको सान्तोरिनीमा अवस्थित केटिकिज होटल समुन्द्र भन्दा ३०० फिटको उचाइमा रहेको चट्टानमा बनेको छ । सुन्दर दृश्य तथा इन्फिनिटी पूलका लागि प्रसिद्ध यो टापुको यो पहिलो लक्जरी होटेल हो । सेतो रंगको होटल तथा निलो समुद्रका कारण यो होटल अझ सुन्दर देखिन्छ।
पोसिडन अन्डरसी रिसोर्ट, फिजी
फिजीको यो लक्जरी रिसोर्ट साहसिक प्रेमीहरूका लागि उत्तम ठाउँ हो। समुन्द्री किनारमा अवस्थित र करिब १ माइलमा फैलिएको यो समुद्रमुनिको रिसोर्ट पर्यटकहरु माझ निकै चर्चित छ । यो रिसोर्टमा दुई प्रकारले लन्च ( डिनर गर्न सकिन्छ । एउटा जमिनमा र अर्को समुद्रमुनि । त्यहाँ पसलहरु , बुटीक, गल्फ कोर्स, टेनिस कोर्ट, पूल , पुस्तकालय र लाउन्ज, थिएटर क्षेत्र तथा सम्मेलन कोठा र विवाह स्थल अनि फिटनेस केन्द्र समेत छ ।
द केभ्स रिसोर्ट, जमैका
जमैकाको वेस्ट एन्डको नेग्रिलमा अवस्थित केभ्स होटल एण्ड स्पाले आफ्नो आकर्षक समुद्र तटका कारण पर्यटकहरूलाई आकर्षित गर्छ। यो रिसोर्टमा गुफा जस्तै आकारका भिल्लाहरू छन । यो रिसोर्टमा बस्ने सबैले आरामका साथमा १२ वटा विशेष चट्टानमा आवास, निजी गुफा , खाने क्षेत्रहरू तथा सामुद्रिक दृश्यहरूको आनन्द उठाउन सक्छन् ।
रेथी राह, माल्दिभ्स
लगभग १३० वटा निजी रिसोर्ट भिल्लाहरूसँगै यसले समुद्रको बीचमा रात बिताउने अद्वितीय अनुभव प्रदान गर्दछ । यो रिसोर्टले कोरल एटोल, लगून तथा सेतो बालुवाको समुद्र तटहरू भ्रमण गर्ने अनौठो अनुभव पनि दिन्छ। यी निजी रिसोर्ट भिल्लाहरूको एक रातको भाडा पनि उच्च नै छ।
द आइस होटेल, स्वीडेन
स्वीडेनको आइस होटल एक कला प्रदर्शनी जस्तै लाग्छ । उत्कृष्ट कला र डिजाइनका लागि परिचित यो होटल सन् १९८९ देखि यात्रुहरूको रोजाइमा परेको छ । यो होटलमा प्रत्येक वर्ष नयाँका साथै अनुभवी कलाकारहरू पनि आउँछन् जो ठूलो वास्तुकला र कलात्मक रूपमा डिजाइन गरिएको बरफको ढुङ्गा भित्र बस्दा कस्तो अनुभूति हुन्छ भन्ने महसुस गर्न चाहन्छन्।
नागोरोंगोरो क्रेटर लज, तान्जानिया
तान्जानियाको यो विलासी सफारी लजले जो कसैलाई प्रकृतिको नजिक पुर्याउँछ । नागोरोंगोरो क्रेटर लजले आफ्नो सुन्दरताका कारण एक विश्व सम्पदा स्थलका रूपमा मान्यता प्राप्त गरेको छ ।
प्रतिक्रिया