मंगलबार, जेठ २८, २०८२

सर्जरी खोजेको अर्थतन्त्रमा झारफुकले चल्दैन : स्वर्णिम वाग्ले

नेपालखोज २०८० वैशाख २५ गते १६:१७

काठमाडौं । अर्थविद् तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले सर्जरी खोजेको अर्थतन्त्रमा झारफुकले काम नचल्ने बताएका छन् ।

सोमबार संसदमा आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा आफ्नो धारणा राख्दै उनले देशको अर्थव्यबस्थालाई सर्जरी गर्नुपर्ने बताएका हुन् ।

वाग्लेले वित्त नीतिमा लचिलो बन्ने स्पेस छैन भन्दै मौद्रिक उपकरणबाट अगाडि जान्छौं भन्ने अर्थमन्त्रीको भनाइ गलत भएको बताएका छन् । उनले खोज्न सक्ने हो र सिर्जनशील हुने हो भने लचिलो बन्ने पर्याप्त ठाउँ रहेको बताएका हुन् ।

उनले बजेटको सिद्धान्त तथा प्राथमिकतामा दीगो विकास र जलवायु परिवर्तनका कुरा आउनु सकारात्मक भएको बताए । तर त्यसबाट अर्थतन्त्रमा कसरी अगाडि लैजाने भन्ने रोडम्याप नदेखिएको बताए ।

‘अर्थमन्त्रीले वित्त नीतिमा लचिलो र रचनात्मक हुने अवस्था छैन, मौद्रिक उपकरणबाट मात्रै अगाडि जान्छौं भनेको सुनियो । यो गलत हो,’ उनले भने, ‘वित्त नीतिमा खोज्न सक्ने हो र सिर्जनशील हुने हो भने पर्याप्त ठाउँ छ । यसको लागि जलवायु परिवर्तन र दीगो विकासको मुद्दाबाट पनि अगाडि बढ्न सक्नुहुन्छ ।’

प्रतिक्रिया