विश्वमा वन्यजन्तुको व्यापार फस्टाउँदो

काठमाडौं । विश्वभर आर्थिक असमानताका कारण वन्यजन्तुको व्यापार फस्टाउँदै गएको छ, जसले यी जनावरहरूको जनसङ्ख्या र जैविक विविधतालाई मात्र असर गरिरहेको छैन, यसका कारण मानवमा महामारीको जोखिम पनि बढेको छ ।
अन्तर्राष्ट्रिय जर्नल साइन्स एडभान्समा प्रकाशित एक अनुसन्धानले विगत दुई दशकमा ४२ करोड १० लाखभन्दा बढी वन्यजन्तुको अन्तर्राष्ट्रिय व्यापार भएको खुलासा गरेको छ । यो व्यापार लगभग २२६ देशमा फैलिएको छ। साइटस (CITES )द्वारा जारी गरिएको सूची अनुसार यी धेरैजसो जीवहरू पहिले देखि नै खतरामा छन्।
विश्लेषण अनुसार अधिकांश वन्यजन्तु न्यून आय भएका देशहरूबाट कब्जा गरी धनी विकसित देशहरूमा निर्यात गरिएको छ । उदाहरणका लागि जङ्गली भ्यागुताहरूको व्यापार मेडागास्कर र अमेरिका बिच हुन्छ। त्यस्तै थाइल्यान्डमा समातिएका जङ्गली माछा हङकङ पठाइन्छ । शोधकर्ताहरूका अनुसार आम्दानीमा विद्यमान असमानताले यो व्यापारलाई चलाइरहेको छ, जुन स्पष्ट रूपमा देख्न सकिन्छ ।
वन्यजन्तुको व्यापारलाई हेर्दा इन्डोनेसिया, जमैका र होन्डुरस सबैभन्दा ठुला पशु निर्यातक हुन । एउटा निश्चित अवधिमा इन्डोनेसियाले मात्र ७१ लाखभन्दा बढी जनावरहरू निर्यात गरेको पाइयो । जमैकाले ४.७ करोड र होन्डुरसले ३.८ करोडभन्दा बढी वन्यजन्तु निर्यात गरेको थियो भने त्यही अवधिमा अमेरिकाले २० करोड ४० लाखभन्दा बढी जनावर आयात गरेको थियो । जनावर आयातमा दोस्रो र तेस्रो स्थानमा फ्रान्स (२८ मिलियन) र इटाली (२५.५ मिलियन)को छ ।
अनुसन्धानकर्ताहरूका अनुसार वन्यजन्तुको संरक्षणका लागि उच्च आय भएका मुलुकले गरिब देशसँग सहकार्य गर्न जरुरी छ । सबैभन्दा बढी वन्यजन्तु निर्यात गर्ने देशहरूलाई निश्चित समयावधिमा व्यापार घटाउन आर्थिक प्रोत्साहन दिनुपर्छ। वन्यजन्तुको यो अन्तर्राष्ट्रिय व्यापार लोपोन्मुख प्रजाति र वनस्पतिका लागि सबैभन्दा ठुलो खतरा हो। हेर्ने हो भने, यसअघि पाँच पटक पृथ्वीमा सामूहिक विनाश भइसकेको छ र अहिले छैठौं पटक हामी त्यो लोपको कगारमा जाँदैछौं ।
यी घटनाहरू बिचको भिन्नता यति हो कि पहिले उल्कापिड वा ज्वालामुखी विस्फोट जस्ता कारणहरू यसका लागि जिम्मेवार थिए भने यस पटक हामी मानवहरू यसको जिम्मेवार हुँदैछौं। आज हामीले वन्यजन्तुलाई उत्पादनको रूपमा हेर्न थालेका छौँ। सोचविहीन रूपमा जसरी उनीहरूको व्यापार भइरहेको छ त्यसले गर्दा उनीहरूको जनसङ्ख्या ह्वात्तै घट्दै गएको छ । यसले यी जीवहरूको इकोसिस्टमलाई मात्र असर गर्दैन जसको उनीहरू महत्त्वपूर्ण हिस्सा हुन् ।
अर्को कुरा जब यी जीवहरूको व्यापार हुन्छ, तिनीहरूमा हुने ब्याक्टेरिया र रोगहरू पनि तिनीहरूसँगै फैलिन्छन्। उभयचरहरूमा यस्तै एउटा केस रिपोर्ट गरिएको थियो जसमा काइट्रिड फङ्गसका कारणले रोग फैलिएको थियो, जसका कारण विश्वव्यापी रूपमा २०० भन्दा बढी प्रजातिका भ्यागुताहरू जोखिममा छन् । यी जीवहरूमा हुने रोगहरू वन्यजन्तु र बोटबिरुवालाई मात्र हानिकारक हुन्छ भन्ने होइन। त्यसबाट मानवीय खतरा पनि बढ्दै गएको छ। त्यसै गरी इबोला र मार्सजस्ता रोग मानिसमा फैलिएको थियो ।
हालैको महामारी कोभिड–१९ यसको जीवित उदाहरण हो । कोभिड–१९ का कारण चीनलगायत अन्य मुलुकमा जसरी वन्यजन्तुको उपभोग घटेको छ, त्यसले अन्तर्राष्ट्रिय वन्यजन्तुको व्यापारमा गिरावट आउन सक्ने अनुसन्धानकर्ताहरूको विश्वास छ । यो एउटा अवसर हो जसलाई परिवर्तन ल्याउन प्रयोग गर्न सकिन्छ। यसका लागि वन्यजन्तुको व्यापारमा स्थायी प्रतिबन्ध लगाउनुपर्छ । यसका लागि जनतालाई पनि सचेत गराउनुपर्छ ।
प्रतिक्रिया