शुक्रबार, असार २०, २०८२

स्वैच्छिक सदस्यता त्याग गर्न पत्रकार महासङ्घ लुम्बिनीको आह्वान

नेपालखोज २०८० वैशाख २६ गते ७:५२

काठमाडौं । पत्रकारिता क्षेत्रमा क्रियाशील नरहेका सदस्यहरूलाई स्वैच्छिक रूपमा सदस्यता त्याग गर्न नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश समितिले आग्रह गरेको छ । पत्रकारिता क्षेत्रमा क्रियाशील नरहेका र स्वैच्छिक रूपमा सदस्यता त्याग गर्ने सबै सदस्यहरूलाई सम्मानसहित बिदा गर्ने र आवश्यकताअनुसार मानार्थ सदस्यता प्रदान गर्ने महासङ्घ लुम्बिनी प्रदेश समितिले बताएको छ ।

लुम्बिनी प्रदेशका १२ जिल्लामा झन्डै एक हजार आठ सय जना नेपाल पत्रकार महासङ्घका साधारण सदस्य छन् । महासङ्घका प्रदेश महासचिव विक्रम खड्काले एक प्रेस विज्ञप्ति जारी गर्दै गएको पुस ८ र ९ गते सुर्खेतमा भएको साधारण सभाले बनाएको सदस्यता शुद्धीकरण समितिले प्रस्ताव गरेअनुसार लुम्बिनीमा भएको राष्ट्रिय मिडिया सम्मेलन र केन्द्रीय समितिको बैठकले पारित गरेको सदस्यता शुद्धीकरण मापदण्डअनुसार पत्रकारिता क्षेत्रमा सक्रिय नरहेका व्यक्तिहरूलाई सदस्यता त्याग गर्न आह्वान गरेका छन् ।

पत्रकार महासङ्घका नयाँ मापदण्डअनुसार पत्रकारिता पेसामा तीन वर्षदेखि सक्रिय नरहेको, राजनीतिक दलको कुनै पनि समितिको पदाधिकारी रहेको, जनप्रतिनिधि रहेको, सरकारी तथा सेवा आयोगको स्थायी, अस्थायी र करार सेवाको कर्मचारी, मिडिया संस्थानबाहेक अन्य संस्थानका कर्मचारीको सदस्यता नवीकरण नहुने महासङ्घका महासचिव खड्काको भनाइ छ ।

मुख्य पेसा पत्रकारिताबाहेक अन्य रहेका, कहिलेकाहीँ मात्र पत्रकारिता गर्ने गैरसरकारी तथा वित्तीय क्षेत्रका कर्मचारी र ६ महिनाभन्दा लामो समयदेखि विदेशमा रहेका व्यक्तिहरूको सदस्यता नवीकरण नगर्ने केन्द्रीय समितिले परिपत्र गरिसकेकाले स्वैच्छिक सदस्यता त्याग गर्न आग्रह गरिएको नेपाल पत्रकार महासङ्घका लुम्बिनी प्रदेशका अध्यक्ष वसन्त गिरीको भनाइ छ ।

प्रतिक्रिया