शुक्रबार, असार २०, २०८२

अडियोको कुरा वाइयात हो : डा. आरजु राणा देउवा

नेपालखोज २०८० वैशाख २६ गते १२:२६

काठमाडौं । नेपाली कांग्रेसकी नेत्री एवम् प्रतिनिधिसभा सांसद डा. आरजु राणा देउवाले भुटानी शरणार्थी सम्बन्धको अडियोबारे सत्य, तथ्य बाहिर आउने बताएकी छिन् ।

संसद् भवन परिसरमा सञ्चारकर्मीसँग बोल्दै उनले आफू एक ठूला नेताको श्रीमती भएको र कसैको पक्षमा बोल्दा कसैलाई चित्त दुख्न सक्ने कुरा स्वाभाविक रहेको बताएकी छिन् ।

उनले भनिन्, ‘म ठूलो नेताको श्रीमती, पार्टीभित्र श्रीमान्, श्रीमतीको कुरा हुन्छ । कसैको लागि लवी गर्दा कसैको चित्त दुख्छ होला, त्यसको पनि यो उपज हो र यो दुई, तीन अगाडि बनाएको अडियो हो ।’ सांसद देउवाले यस विषयलाई एकदमै नजिकबाट नियालेको पनि बताइन् ।

‘अब यो रियल कसरी हो र यो अडियोको सत्य, तथ्य बाहिर आउँला । जब यो काण्ड भयो, त्यस अवधिको सात महिना त म जापानमा थिएँ । यो सबै वाइयात कुरा हो । यसमा मेरो भन्नु केही छैन ।’, डा. देउवाले भनिन् ।

उनले भुटानी शरणार्थीको प्रकरण राष्ट्रिय मात्रै नभई अन्तर्राष्ट्रिय मुद्दासमेत भएको उनको भनाइ छ । उनले भनिन्, ‘मैले एकदम नजिकबाट नियालेको छु । यो चाहिँ नेशनल इस्यु मात्रै होइन, इन्टरनेशनल इस्यु हो । जसले जालमा फसाउन खोजेको छ, आफैँ फस्ने वाला छ ।’

केही ठूला दलको पनि नाम जोडिएको जिज्ञासामा उहाँले मानव बेचबिखनको विषय सबैभन्दा ठूलो अपराध भएकाले यो विषय लुकाउन नसकिने स्पष्ट पारिन् । आइ डण्ट थिङ् इट पोसिबल, किन यो इमिग्रेसन र ह्युमन ट्राफिकिङको क्राइम हो । यो क्राइम चाहिँ इन्टरनेशनल्ली सबभन्दा ड्रग बेच्ने र ह्युमन ट्राफिकिङ भनेको, एकदमै ठूलो क्राइम हो । नेपालले मात्रै यसलाई लुकाउँछु, कसलाई छुपाउँछु भनेर हुन्छ जस्तो मलाई लाग्दैन’, उनले भनिन् ।

सांसद देउवाले यो सबैभन्दा ठूलो अपराधको विषय भएकाले लुकाउन नसकिँदै भन्दै प्रहरीले यसको अनुसन्धान गरिरहेकाले सबै सत्य, तथ्य बाहिर आउने जिकिर गरिन् । ‘फेक न्युज जति पनि हुन्छ, त्यो अडियो पुलिसले पनि हेरिरहेको छ, कसले बनायो, कहिले बनायो भनेर । यो एउटा नेचुरल रूपमा पनि म हेर्छु । किनकि महिलालाई कुनै पनि क्षेत्रमा सजिलो छैन’, उनको भनाइ छ ।

प्रतिक्रिया