मनाङमा सडकको ट्र्याक खोलिँदै

मनाङ । हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकामा ट्र्याक खोलिँदै छ । सडक विस्तार भएको २० वर्षपछि विकट क्षेत्रको रूपमा रहेको नार्पाभूमिमा सडकको ट्र्याक खोल्न थालिएको हो ।
प्रदेश सरकार र पालिकाले बजेट छुटाएपछि नार्पाभूमिमा विस्फोटक पदार्थ प्रयोग गरी पहाड फोरेर सडकको ट्र्याक खोल्न सुरुआत गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शिशिर घिमिरेले जानकारी दिए । सडक सञ्जालबाट वञ्चित सो पालिकामा चट्टान फुटाउन विस्फोटक पदार्थ प्रयोग गरिँदै छ ।
जिल्ला सुरक्षा समितिको बैठकबाट निर्णय भएपछि आजदेखि विस्फोटक पदार्थ प्रयोग गरी नार्पाभूमिको कोतो–च्याँखु सडक खण्डको ट्र्याक खोल्न थालिएको उनले बताए । विस्फोटक पदार्थ प्रयोग गर्ने समयमा पशुचौपाय नछोड्न र पैदल यात्रुलाई आवतजावत नगर्न अनुरोध गरिएको छ ।
नार्पाभूमिमा सडक सञ्जालका लागि ट्र्याक खोल्न स्थानीय सरकार र प्रदेश सरकारबाट बजेट विनियोजन भएको छ । केही भागमा ट्र्याक खोल्ने काम भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश पाख्रिनले जानकारी दिए । ट्र्याक खोल्न गण्डकी प्रदेश सरकारले ५० लाख र गाउँपालिकाले ९० लाख विनियोजन गरेको छ ।
प्रतिक्रिया