शनिबार, असार २१, २०८२

ठेक्का सम्झौता पूरा नगर्नेलाई कारबाही गरिन्छ : मन्त्री ज्वाला

नेपालखोज २०८० वैशाख २९ गते २२:००

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निर्माण क्षेत्रमा भएका ठेक्का सम्झौताअनुसार कार्यसम्पादन नगर्ने कम्पनीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

एक टेलिभिजनले आज आयोजना गरेको अन्तरक्रियामा उनले यस क्षेत्रमा देखिएका ढिलासुस्ती, तोकिएका मापदण्ड पूरा नगर्ने, गुणस्तरमा कमजोरी गर्नेजस्ता विकृतिको अन्त्य गर्नुपर्नेमा जोड दिँदै त्यसको उचित व्यवस्थापन तथा अनुगमनका लागि आवश्यक नियम बनाउन सरोकारपक्षसँग परामर्श भइरहेको जानकारी दिए ।

मुलुकको विकास र आर्थिक समृद्धिका लागि पूर्वाधार निर्माणका क्षेत्रमा लगानी बढाउनुपर्ने उनको भनाइ थियो । मन्त्री ज्वालाले यस क्षेत्रमा गरिने लगानीले ठूलो सङ्ख्यामा रोजगारी सिर्जना गर्ने बताउँदै त्यसले उनीहरूको खर्च गर्ने क्षमता विकास तथा पूँजी निर्माण हुने र अर्थतन्त्रको बहुआयामिक पक्षमा सकारात्मक प्रभाव पार्ने बताए ।

सडक यातायातको विस्तारले ग्रामीण समाजलाई शहरसँग जोड्ने भन्दै उनले कृषि क्षेत्रलाई यान्त्रिकरण गर्ने, उत्पादनलाई बजारीकरण गरी बाह्य आयातलाई न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। मन्त्री ज्वालाले आफ्नो मन्त्रालयमा चालु आर्थिक वर्षमा एक खर्ब ६७ अर्ब बजेट विनियोजन गरिएकामा अहिले एक खर्ब १३ अर्बको सिलिङ्ग रहेकाले त्यसलाई वृद्धि गर्न विशेष कार्ययोजना तयारीको क्रममा रहेको जानकारी दिए ।

प्रतिक्रिया