शनिबार, असार २१, २०८२

राम्दीघाटमा फेरीको यात्रा

सुनील उलक २०८० वैशाख ३० गते ६:१८

२०२१ भदौ १० गते अर्थात् १९६४ अगस्ट २५ का दिन भारत सरकार र नेपाल सरकार बिच १५ बुँदे सम्झौता भयो । जसमा भारतका तर्फबाट भारतीय विदेश मन्त्री सरदार स्वर्ण सिंहले हस्ताक्षर गरेका थिए भने नेपालका तर्फबाट मन्त्रिपरिषद्का उपाध्यक्ष तथा आर्थिक योजना मन्त्री सूर्यबहादुर थापाले हस्ताक्षर गर्नुभएको थियो ।

सम्झौता अनुसार ९.११ करोड भारतीय रुपैयाँको भारतीय सहयोगमा भारतीय सीमा सुनौलीबाट पोखरासम्म राजमार्ग बनाउने योजना थियो । यो राजमार्ग २०२५ सालको पुस १७ गते अर्थात् १९६८ को डिसेम्बर ३१ सम्म तैयार हुने लक्ष राखिएको थियो । तर यो सडक समयमा पुरा हुन सकेन । दुई वर्ष बढी लाग्यो ।

२०२७ सालको पुस १६ गते सडक त तैयार भयो । तर यहाँ बिचमा परेको काली गण्डकी माथिको राम्दीको पुल भने बनेन । भारत सरकारले दुई वर्षका लागि अवधि पुन थपेर राजमार्गको मर्मतको खर्चका लागि लाग्ने ७६ लाख ३३ हजार भारतीय रुपैयाँ नेपाल सरकारले दिने आशा राखेका थिए । तर अन्तमा भारत सरकारले नै मर्मत कार्य गरिदियो ।

अन्ततः २०२९ वैशाख २४ गते तदनुसार सन १९७२ मइ ६ तारिखका दिन राजा वीरेन्द्रले अटोमेटिक बटन दबाएर राजमार्गको समुद्घाटन गर्नु भएको थियो । पोखराको बिरौटामा भएको कार्यक्रम पछि राजा चढेको जिप केही किलोमिटर गुडाइएको थियो भने बस नं ११० नम्बरको टाटा बस पहिलो दिन पोखराबाट सुनौली तर्फ लागेको थियो ।

२०२६ सालतिर पोखरा काठमाडौं सडक बनेको थिएन । सुनौली पोखरा सडक बन्न थाल्दै थियो । साथै कतिपय ठाउँमा ग्रावलको काम सकिसकेको थियो भने कतिपय ठाउँमा हुँदै थियो । सडकको रूपरेखा कोरिन थालेपछि नै सडकमा गाडी गुड्न पनि थालिसकेको थियो । पोखराका सडकमा पनि गाडी, जिप, बस तथा लरीहरू आउन थालिसकेका थिए ।

सामानको आपूर्ति पनि सोही सडकबाट हुन थालिसकेको थियो । पोखराका व्यापारीहरूले भरियाबाट सामान बोकाएर ल्याउनुको सत्ता ट्रकबाट सामान ल्याउन थालिसकेका थिए । सडकको रूपरेखा बने पनि काली गण्डकी माथि बन्नुपर्ने पुल नबनेको हुँदा समस्या थियो ।

यसैले ठुला ठुला घाटहरूमा ठुला ठुला डुङ्गाहरूलाई एक अर्कोमा बाँधेर ट्रक, बस, जिप र लरीहरूलाई तार्ने गरिन्थ्यो । यसरी नै यहाँ देखाइएको तस्बिरमा राम्दीघाटमा बेलायती अन्नपूर्ण आरोहण अभियानका १४५ बक्सका सामग्री ट्रकमा तथा एक जिपलाई काली गण्डकी तारिँदै छ ।

यी सामग्रीहरू बेलायत देखि बम्बइसम्म पानीजहाजमा ल्याइएका थिए भने बम्बइबाट नौटनवासम्म रेलमा ल्याइएका थिए । नौटनवा पछि भने सडकबाट पाल्पाको दर्लामडाँडा सम्म ल्याइएको थियो । त्यस पछि राम्दीघाटमा फेरीबाट काली गण्डकी तारिएको थियो ।

प्रतिक्रिया