गाउँपालिका अध्यक्षले किर्ते गरेर १२ को परीक्षा दिएको आरोप

सिन्धुली । सिन्धुली जिल्लाको मरिण गाउँपालिकाका अध्यक्ष प्रख्यात माेक्तानले किर्ते गरेर १२ को परीक्षा दिएको आरोप लागेको छ । हिजो सामाजिक विषयको परीक्षामा एउटै सिम्बाेल नम्बरका दुईवटा उत्तरपुस्तिका फेला परेपछि उनी विवादमा तानिएका हुन् ।
गाउँपालिका अध्यक्ष मोक्तानले आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् । उनले अहिलेसम्म तीनवटै परीक्षा आफूले नियमपूर्वक हलमा बसेर दिएको दावी गरेका छन् ।
मोक्तानको अभिव्यक्ति जस्तोको तस्तै–
‘म विद्यार्थीकै बीचमा बसेर परीक्षा दिइरहेको छु । विरोधीहरुले अनेक दुष्प्रचार गरिरहेका छन् । जुन कापी भेट्टाइयो, त्यो भन्ने चाहीँ मेरो चुनावमा एमालेको प्रतिद्वन्द्वीको आफ्नै ज्वाईंको हातबाट भेटिएको भन्ने आएको छ । मलाई फसाउने षडयन्त्र गरिएको हो जस्तो लाग्छ ।
हिजो सामाजिक विषय त्यति ठूलो विषय पनि होइन । हामीले समाजमा गर्दै आएको कामको विषयमा त लेख्ने हो । कसरी समाजलाई विकास गर्न सकिन्छ भनेर लेख्ने त हो । आफैंले लेख्न सकिहाल्छु ।
मैले लेखेर बुझाएर पनि ४५ मिनेटपछि त्यो कुराहरु बाहिर आयो । परीक्षा रद्द भएको थाहा छैन । म परीक्षा दिएर आएपछि सुनेको कुरा हो । बढी भेटिएको एउटा कपि रद्द भयो भन्ने सुन्यो हो । भोलि पनि बिहान परीक्षा दिन जान्छु । रेगुलर पढाइ हो । योभन्दा अघिल्लो वर्ष ११ को परीक्षा पनि आफैं दिएको हुँ ।
चुनावमा मलाई विरोधिहरुले अनपढ, जंगली भनेर प्रचार गरे । त्यसैको इखले गर्दा पनि अलिकति पढौं भनेर लागेको हो । योपटक कतिवटा विषय पास हुन्छु, अर्कोपटक फेरि दिउँला भनेर सोचेको छु । म फेरि गाडी लिएर गएको छु । आउँदा पनि गाडी बोलाएर आउँछु । सबैले देखिरहेका छन् ।
लाइब्रेरीमा एक्लै राखेर परीक्षा दिन लगाएको भन्ने पनि पूरै झूटो हो । विद्यार्थीहरुलाई नै सोध्दा हुन्छ । उनीहरुले सीडीओ एसपीसाबहरुलाई पनि भनेका छन् । सीडीओसाबहरुले पनि मेरो ह्यान्डराइटिङ हेरेर तपाईंको अक्षर साह्रै राम्रो रहेछ, पास मार्क त ल्याउनुहुन्छ होला भन्नुभएको थियो । कोशिस गर्ने हो । तर, राजनीतिमा धेरै विरोधिहरु हुँदा रहेछन् । खोई के भन्नु ।’
प्रतिक्रिया