आइतबार, असार २२, २०८२

विद्युतीय शव दाह गृह निःशुल्क गर्ने तयारी

नेपालखोज २०८० वैशाख ३१ गते १४:२८

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपति आर्यघाटस्थित विद्युतीय शव दाह गृहमा दाहसंस्कारका लागि ल्याइने शवलाई निःशुल्क शव दाहको व्यवस्था गर्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बसेको कोष सञ्चालक परिषद्को बैठकले थप चार विद्युतीय शव दाह गृहको व्यवस्था गरी निःशुल्क दाहसंस्कारको व्यवस्था गर्ने निर्णय गरेको कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले जानकारी दिए ।

‘कोषले कार्यविधि निर्माण गरेपछि कोष सञ्चालक परिषद्ले उक्त कार्यविधि पारित गर्ने छ । यसका लागि केही समय लाग्ने छ’, उनले भने ।

पशुपतिमा रहेका दुई वटा विद्युतीय शव दाह गृहमध्ये एउटाको यन्त्र बिग्रिएको छ । हाल एउटा शव दाह गृह मात्र सञ्चालनमा रहेको सदस्य सचिव थापाले बताए ।

सोही स्थानमा थप चार विद्युतीय शव दाह गृह निर्माण गरी घाटमा आउने सबै शवलाई निःशुल्क दाहसंस्कारको व्यवस्था गर्ने तयारी गरिएको कोषले जनाएको छ ।

पशुपति आर्यघाटमा शवको दाहसंस्कार गरेबापत दाउराबाट जलाउने घाटमा १५ हजार र विद्युतीय शव दाह गृहमा चार हजार शुल्क तोकिएको छ ।

इच्छुक दाताका लागि स्वेच्छाले कोषको खातामा आर्थिक सहयोग गर्न चाहेमा विकल्प खुला राखिने कोषले जनाएको छ । थप विद्युतीय शव दाह गृह यन्त्र खरिदका लागि कोषले आफ्नै स्रोतबाट आठ करोड छुटाएको छ ।

शव दाह गृह निर्माणपछि निःशुल्क सञ्चालनका लागि कोषले एक करोडको अक्षय कोष स्थापना गरेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

बैठकको अध्यक्षता संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री सुदन किराँतीले गरेको थिए । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पालीकोसमेत उपस्थिति थियो ।

प्रतिक्रिया