रिस व्यवस्थापन

रिस (क्रोध) के हो ?
रिस भनेको एक स्वभाविक, सामान्य र स्वस्थ मानवीय भावना हो। तर, जब यो नियन्त्रण बाहिर जान्छ तब यो विनाशकारी हुन्छ । रिस नियन्त्रणभन्दा बाहिर जाँदा यसले तपाईँको काममा, तपाईँको व्यक्तिगत सम्बन्ध र तपाईँको जीवनको समग्र गुणस्तरमा समस्याहरू निम्त्याउन सक्छ । रिस नियन्त्रणमा नहुँदा यसले तपाईँको जीवनका विविध पक्षहरूमा नकारात्मक असर पार्न सक्छ।
सामान्यतया रिस व्यवस्थापनको लक्ष्य भनेको तपाईँको संवेगात्मक भावना र रिसका कारण हुने शारीरिक उत्तेजनालाई कम गर्नु हो। तपाईँलाई रिस उठाउने कुराहरूबाट न तपाईँ छुटकारा पाउन सक्नुहुन्छ वा बेवास्ता गर्न नै सक्नुहुन्छ । तपाईँले तिनलाई परिवर्तन पनि गर्न सक्नुहुन्न । तर तपाईँले आफूलाई रिस उठाउने कुराहरूप्रतिको आफ्नो प्रतिक्रियाहरू भने अवश्य नै नियन्त्रण गर्न सिक्न सक्नुहुन्छ।
के तपाईँ धेरै रिसाउनुहुन्छ ?
केही मनोवैज्ञानिक परीक्षहणहरूबाट तपाईँ कत्तिको रिसाउनुहुन्छ र यसलाई कसरी नियन्त्रण गर्नुहुन्छ भन्ने बारेमा मापन गर्न सकिन्छ । यदि तपाईँले आफूलाई नियन्त्रण बाहिर र डरलाग्दो रूपमा प्रस्तुत भएको पाउनुभएको छ भने तपाईँलाई यस्ता खालका भावनाहरूलाई नियन्त्रण गर्ने उचित तरिकाहरू अपनाउन मद्दत चाहिन सक्छ ।
किन केही मानिसहरू अरूभन्दा बढी रिसाउँछन् ?
सामान्यतया, सजिलैसँग रिसाउने मानिसहरू कुनै निराशाप्रति कम सहिष्णु हुन्छन् । अर्थात्, उनीहरूलाई त्यस्ता निराशाहरू सहन कठिन हुन्छ भन्ने गरिन्छ । तिनीहरूले निराशा, असुविधा, वा कुनै किसिमको अप्ठ्यारोपन आउनुहुन्न भन्ने भन्ने महसुस गर्छन्। तिनीहरूले आफू वरपरको गतिविधिलाई नियन्त्रणमा लिन सक्दैनन् र क्रोधित हुन्छन् ।
के कारणले यी मानिसहरूलाई यस्तो बन्छन् ?
यसका धेरै कारणहरू हुन सक्छन् एउटा कारण आनुवंशिक वा शारीरिक कारण हुन सक्छ: केही बच्चाहरू चिडचिडापन देखाउने र सजिलै रिसाउने स्वभावका हुन्छन् र यी लक्षणहरू सानै उमेरदेखि नै देखिन्छन् । त्यस्तै अर्को सामाजिक वा सांस्कृतिक कारण हुन सक्छ। रिसलाई अक्सर नकारात्मक मानिन्छ; हामीलाई सिकाइएको छ कि चिन्ता, निराशा वा अन्य भावनाहरू व्यक्त गर्न ठिक छ तर रिस व्यक्त गर्न होइन। जसको परिणामस्वरूप, हामीले रिसलाई कसरी नियन्त्रण गर्ने वा यसलाई रचनात्मक रूपमा कसरी व्यवस्थापन गर्ने भनेर सिक्दैनौँ ।
रिस व्यवस्थापनका केही उपाय
आराम तथा विश्राम (relaxation)
आरामा तथा विश्रामका केही सरल विधिहरू; जस्तै गहिरो श्वास लिने जस्ता गतिविधिहरूले क्रोधित भावनाहरूलाई शान्त पार्न मद्दत गर्न सक्छन् । गहिरो श्वास लिँदै ‘relax,take it easy’ जस्ता शब्दहरू उच्चारण गरिन्छ । गहिरो श्वास लिँदा आफूलाई केही नभएको र आरामदायी अनुभव भएको कल्पना गर्नुहोस् । यसका साथै दैनिक रूपमा योगअभ्यास गर्ने बानीले पनि तपाईँलाई आराम दिन र शान्त महसुस गराउन सक्छ । यस्ता प्रयोगहरू दैनिक रूपमा गर्नुहोस् र तिनलाई स्वचालित बनाउने अभ्यास गराउनुहोस् ।
संज्ञानात्मक वा बोधात्मक पुनर्संरचना (Cognitive Restructuring)
सरल शब्दमा भन्नुपर्दा, यसको अर्थ तपाईँको सोच्ने तरिका परिवर्तन गर्नु हो। रिसाहा व्यक्तिहरूले आफ्ना भित्री विचारहरू झल्काउन नराम्रा शब्दहरूले अरूलाई सराप्ने, कसम खाने वा बोल्ने प्रवृत्ति हुन्छ। जब तपाईँ रिसाउनुहुन्छ, तब तपाईँको विचार धेरै बढाइचढाइ र अत्यधिक नाटकीय हुन सक्छ। यी विचारहरूलाई तर्कसङ्गत विचारहरूले प्रतिस्थापन गर्ने प्रयास गर्न कोसिस गर्नुहोस् । आफैँलाई सम्झाउनुहोस् कि रिसाउनुले केही पनि ठिक गर्दैन । यसले तपाईँलाई राम्रो महसुस गराउँदैन र यो कुरा महसुस गर्नुस् कि वास्तवमा रिसले तपाईँलाई नराम्रो महसुस गराउन सक्छ ।
समस्या समाधान (problem solving)
कहिलेकाहीँ, हाम्रो क्रोध र निराशा हाम्रो जीवनमा धेरै वास्तविक र अपरिहार्य समस्याहरूका कारण सिर्जित हुन्छ। सबै रिस गलत ठाउँमा मात्र हुँदैन । कहिलेकाहीँ कठिनाइहरूको सामना गर्दा त्यसले सिर्जन गर्ने चरम निराशाले तपाईँलाई रिस उठ्न सक्छ । त्यसैले यो महसुस गर्नुहोस् कि हरेक समस्याको समाधान हुन्छ । कुनै समस्या परेमा त्यसप्रति निराशा नभई त्यसको समाधान कसरी खोज्ने भन्नेतर्फ आफूलाई लैजानुहोस् ।
एउटा योजना बनाउनुहोस् रआफ्नो प्रगति जाँच गर्नुहोस्। यसलाई आफूले सकेजति राम्रो गर्छु भन्ने सङ्कल्प गर्नुहोस् । तर, तुरुन्तै परिणाम नआएमा आफैँलाई सजाय नदिनुहोस्। यदि तपाईँले राम्रो नियत गर्दागर्दै र सकेजति अभ्यास गर्दा पनि समाधानमा पुग्नुभएन भने पनि धैर्य नगमुाउनुहोस् ।
राम्रो सञ्चार (better communication)
क्रोधित व्यक्तिहरूमा छिट्टै निष्कर्षमा पुग्ने प्रवृत्ति हुन्छ र ती निष्कर्षहरू मध्ये धेरै गलत हुन सक्छन्। कुनै कुराको निष्कर्षमा पुग्नुपहिले त्यसबारेमा राम्रोसँग विचार गर्नुहोस् । सावधानीपूर्ण तरिकाले सोच्नुहोस् । एकै समयमा अर्को व्यक्ति के भनिरहेका छन् ध्यानपूर्वक सुन्नुहोस् र जवाफ दिनुअघि आफ्नो समय लिनुहोस् । रिसको रहस्य के हो भन्ने बारेमा राम्रोसँग मनन गर्नुहोस् । तपाईँको कसैले आलोचना गर्दा रक्षात्मक हुनु स्वभाविक नै हुन्छ । तर त्यससँग मुकाविला गर्नुको सट्टा एक कदम पछि हट्नुहोस् ।
वातावरणमा परिवर्तन (change in environment)
कहिलेकाहीँ हाम्रो तत्कालीन परिवेश र वातावरणका कारण हामीमा रिस सिर्जना हुन सक्छ । तपाईँ समस्या तथा जिम्मेवारीहरूको जालमा पर्न सक्नुहुन्छ र त्यस्तो परिस्थित सिर्जना गर्ने कारकहरूप्रति तपाईँको रिस उठ्न सक्छ । त्यस्तो परिस्थितिमा यस्ता कारकहरूबाट केही समयका लागि टाढा जान सक्नुहुन्छ ।
आफैँलाई सहज बनाउन केही अन्य सुझावहरू समय : यदि तपाईँ आफ्नो परिवारका सदस्यहरूसँग कुनै विषयमा खाना खाने समयमा कुरा गर्दा झगडा हुन्छ । त्यस्तो बेला त्यो कुरा अन्य समयमा राख्न सक्नुहुन्छ ।
बेवास्ता: यदि तपाईँलाई केही कुरा मन पर्दैन र त्यसले रिस उठाउँछ भन्ने त्यस्ता कुरालाई वेवास्ता गर्ने प्रयास गर्नुहोस् ।
प्रतिक्रिया