आइतबार, असार २२, २०८२

सिन्धुलीमा पशु चौपायामा कार्पस भाइरसको सङ्क्रमण

नेपालखोज २०८० जेठ २ गते १४:१४

सिन्धुली । सिन्धुलीमा पछिल्लो केही दिनयता घरपालुवा पशु चौपायामा कार्पस भाइरसको सङ्क्रमण तीव्र रूपमा फैलिएको छ । यसबाट पशु चौपायाको मृत्युसमेत हुने गरेको छ ।

जिल्लामा नौ स्थानीय तहमध्ये आठ वटामा कार्पस भाइरसको सङ्क्रमण फैलिएको छ । कार्पस भाइरसको सङ्क्रमणबाट हालसम्म ४२ पशु मरिसकेका छन् ।

कमलामाई नगरपालिका, दुधौली नगपालिका, तीन पाटन गाउँपालिका, फिक्कल गाउँपालिका, गोलञ्जोर गाउँपालिका, घ्याङलेख गाउँपालिका, मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकामा पशुमा कार्पस भाइरसको सङ्क्रमण फैलिएको छ ।

हालसम्म सुनकोसी गाउँपालिकामा भने कार्पस भाइरसको सङ्क्रमण देखा नपरेको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र सिन्धुलीका पशु चिकित्सक नवराज थापाले जानकारी दिए ।

सबैभन्दा बढी यस रोगको सङ्क्रमण तीन पाटन गाउँपालिकामा छ । रोगको सङ्क्रमण हुने र मर्नेको सङ्ख्या तीन पाटन गाउँपालिकामा अत्यधिक छ । तीन पाटनमा हालसम्म २३ गाई मरेका छन् । दुई हजार तीन सय ३६ पशु सङ्क्रमित बनेका छन् ।

विशेष गरी गाईमा यो रोगको सङ्क्रमण बढी देखिएको थापाले जानकारी दिए । रोगका कारण आठ हजार दुई सय ६२ पशु बिरामी भएका छन् ।

कमलामाईमा एक हजार नौ सय ८३ पशु कार्पस भाइरसबाट सङ्क्रमित छन् भने सात वटा मरेका छन् । दुधौलीमा दुई हजार एक सय ४९ पशु सङ्क्रमित छन् । मरिणमा सङ्क्रमित एक हजार ३६ र दुई पशु मरेका छन् ।

फिक्कलमा एक सय ६० पशुमा सङ्क्रमण छ भने एउटा मरेको थापाले जानकारी दिए । गोलञ्जोरमा तीन सय ३५ पशुमा सङ्क्रमण र नौ वटा पशुको मृत्यु भएको छ । हरिहरपुर गढीमा दुई सय १६ पशुमा सङ्क्रमण र एकको मृत्यु भएको छ । यस्तै घ्याङलेखमा ४७ पशुमा सङ्क्रमण देखिएको छ ।

यो रोगका कारण साना बाच्छाबाच्छी र कमजोर खालका गाई बढी मर्ने गरेको थापाले बताए । उनले भने, ‘रोग प्रतिरक्षा शक्ति कमजोर भएका गाईमा रोगको जोखिम बढी भएको पाइएको छ ।’ रोग लाग्न नदिन रोग नलागेका गाईलाई रोगविरुद्धको खोप लगाउन सकिने थापा बताए ।

प्रतिक्रिया